माघ भित्रै दस्तुर बुझाए सवारीधनीले पाउँछन् यी दुई छुट

काठमाडौं । बागमती प्रदेशका सवारीधनीले यही माघ महिना भित्रै सवारी जाँचपास र बाटो इजाजत नवीकरण दस्तुर तिरेमा जरिवाना छुट पाउने भएका छन् ।

प्रदेश सरकारको गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि, यो छुट सुविधा सबै सवारीधनीलाई नभई भदौ २३ गतेदेखि यातायात कार्यालयहरुको सेवा सुचारु नभएसम्मको अवधिमा सवारी जाँचपास र बाटो इजाजत नवीकरण मिति तोकिएका सवारीको हकमा मात्र लागू हुनेछ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पुस २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आन्दोलनले गर्दा सेवा अवरुद्ध भएको समय (भदौ २३ देखि सेवा सुचारु नभएको अवधिसम्म) बाटो इजाजतपत्र नवीकरण र सवारी जाँचपास गर्नुपर्ने अन्तिम मिति तोकिएका सवारी साधनहरूले माघ मसान्तसम्म दस्तुर बुझाउन आएमा लाग्ने जरिवाना छुट दिने जानकारी गराएको हो ।

‘मिति २०८२ भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनले गर्दा सेवा प्रवाह अवरुद्ध भएको कारणले यातायात व्यवस्था कार्यालयहरूमा सम्वत् २०८२ भाद्र २३ गतेदेखि सेवा सुचारु नभएसम्मको अवधि भित्र तिर्नुपर्ने अन्तिम मिति तोकिएक सवारी साधनहरूले मात्र सम्वत् २०८२ माघ मसान्तसम्ममा दस्तुर बुझाउन आएमा प्रचलित कानून बमोजि बाटो इजाजत पत्रको नवीकरण दस्तुमा लाग्ने जरिवाना र थप जरिवाना तथा जाँचपासको नवीकरण दस्तुरमा लाग्ने जरिवाना र थप जरिवाना छुट दिने,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।


Back_to_top