किन डुब्दैछन् कार बनाउने ‘स्टार्टअप ब्राण्ड’ ?

काठमाडौं । विश्वभर आइटी क्षेत्रमा सबैभन्दा धेरै स्टार्टअप कम्पनीहरूले काम गरिरहेका छन् । ती मध्ये सबैले सफलता पाउँछन् भन्ने हुँदैन । पछिल्लो एक दशकमा विद्युतीय कारको चर्चासँगै ईभी बनाउन स्टार्टअप कम्पनीको बाढी नै आयो ।

अमेरिका, चीन, युरोप र अन्य एशियाली देशमा पनि स्टार्टअप कम्पनी खुले । त्यसमा चीनमा सबैभन्दा धेरै अटोमोबाइलमा स्टार्टअप कम्पनी खुलेका थिए । त्यसमध्ये अहिले १०/१२ वटा ब्राण्डले मात्रै ‘मास स्केल’मा कार उत्पादन गरेका छन् ।

केही अन्य आइटी क्षेत्रमा प्रवेश गरे, केही ब्राण्ड ब्याट्री टेक्नोलोजीमा रिसर्च गरिरहेका छन् । केही कम्पनीले टाट पल्टेको घोषणा नै गरेका छन् । उनीहरूले बैंकरप्सी नै फाइल गरेका छन् ।

चीनमा खुलेका स्टार्टअप डुब्नुमा विश्व अटोमोबाइल टेक्नोलोजीमा भइरहेको द्रुत विकास, अन्तर्राष्ट्रिय बजारमा चिनियाँ ईभी ब्राण्डलाई हेर्ने शंकास्पद नजर प्रमुख कारण हुन् ।

उसोत चीनको मात्र होइन अमेरिका र युरोपमा स्थापना भएका स्टार्टअप अटोमोबाइल कम्पनीको दुर्दशा पनि त्यस्तै छ । अमेरिका र युरोपमा खुलेका स्टार्टअप कम्पनीहरू प्रायः कमजोर कार्यान्वयन क्षमताको कारण बन्द भएको देखिन्छ ।

केही ब्राण्डले बजारको अपेक्षाहरू पूरा गर्न नसकेर बन्द भएका छन् । धेरै अटोमोबाइल स्टार्टअप कम्पनीहरू सयम अनुसार नयाँ टेक्नोलोजीमा भएको परिवर्तनमा आफूलाई खरो उतार्न नसक्दा बन्द भएका छन् ।

विद्युतीय सवारी साधनमा द्रुत गतिमा भइरहेको अटोनोमस टेक्नोलोजी, कनेक्टेड माेबिलिटी टेक्नोलोजी, ब्याट्री तथा इलेक्ट्रीक मोटरमा भइरहेको तीव्र विकासमा आफूलाई खरो उतार्न नसक्दा धेरै ईभी स्टार्टअप कम्पनीहरू ‘कोल्यापस’ भएका छन् ।

यति मात्र होइन स्टार्टअप कम्पनीहरूले आवश्यक पूँजीको पूर्वानुमान गर्न नसक्दा टाटा पल्टेका छन् । त्यस्तै, धेरै कम्पनीले आफ्नो प्रोडक्टलाई फरक देखाउन बजारको आवश्यकताभन्दा फरक मोडल उत्पादनमा पैसा लगाउँदा पनि फसेका छन् ।

कुनै स्टार्टअपको प्रोडक्ट चलिहालेमा पनि कमजोर आपूर्ति श्रृङ्खलाका कारण अगाडि बढ्न नसकेको हामीले देखेका छौं । नगद प्रवाहमा पर्ने दबाब झेल्न नसकेर पनि कयौं स्टार्टअपहरू बन्द भएका छन् ।

गाडीको कुरा आउने बित्तिकै उत्पादन र बिक्री गरेर मात्रै हुँदैन । गाडी बिक्री गरेपछि दिनुपर्ने आफ्टर सेल्स सर्भिस र कस्टुमर सर्भिसमा कमजोर भएसँगै ब्राण्ड नै धरासायी बनेका घटना पनि छन् ।


Back_to_top