नयाँ कार किन्नेलाई ६ लाखसम्म नगद छुट, यस्ता छन् कम्पनी अनुसारका अफर

काठमाडौं । अहिले सबै कम्पनीले नयाँ वर्ष अफर संचालन गरिरहेका छन् । कम्पनीहरुले ल्याएको नयाँ वर्ष स्कीममा आफ्नो मोडल अनुसार नगद छुट तथा एक्सचेन्ज गर्न चाहने ग्राहकलाई एक्सचेन्ज वोनस उपलब्ध गराउँदै आएका छन् ।

अधिकांश कम्पनीले चैत १५ गतेबाट नयाँ वर्ष स्कीम सार्वजनिक गरेका थिए । अहिले हुन्डाई, मारुती सुजुकी, रेनो, साङयोङ, फक्सवागन, स्कोडा जस्ता कम्पनीले स्कीम ल्याएका छन् । अन्य केहि कम्पनीले नगद छुट र एक्सचेन्ज वोनस दिने घोषणा गरेको भएपनि कति रकम दिने भन्ने विषय खुलाएका छैनन् ।

मारुती सुजुकीले २०१९ र २०२० मोडलमा ६ लाखसम्मको नगद छुट दिने घोषणा गरेको छ । यो नयाँ वर्ष स्कीममा आएको सबैभन्दा धेरै नगद छुट हो । त्यसैगरि सुजुकीले नयाँ २०२१ मोडलमा पनि ५० हजारदेखि २ लाख ५० हजारसम्म नगद छुट र २५ हजारदेखि १ लाखसम्म एक्सचेन्ज वोनस दिने जनाएको छ ।

हुन्डाईले पनि नयाँ वर्ष अफर संचालन गरिरहेको छ । कम्पनीले ल्याएको नयाँ वर्ष अफरमा गाडी किन्दा ग्राहकले ८० हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म नगद छुट, थप स्क्र्याचकार्ड मार्फत २० हजारदेखि ७८ हजारसम्मको नगद छुट प्रदान गरेको छ । यी दुबैलाई मिलाउँदा हुन्डाईले १ लाख देखि १ लाख ५० हजारसम्म न्यूनतम छुट प्रदान गर्नेछ । कम्पनीले ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ र १ वर्षको बीमा शुल्कपनि तिर्ने छ ।

रेनोले आफ्ना कारमा न्यूनतम ७५ हजार रुपैयाँ नगद छुट दिने जनाएको छ । कम्पनीले आफ्नो इन्ट्री लेवल कार क्वीडमा उक्त छुट दिने हो । साथै, कम्पनीले निःशुल्क एशोसरिज, निःशुल्क सर्भिस र आकर्षक एक्सचेन्ज बोनस भनेको छ ।
स्कोडाले र्यापीड किन्न चाहने ग्राहकलाई १० लाख डाउन पेमेन्ट गरेपुग्ने योजना ल्याएको छ भने निसानले सून्य प्रतिशत डाउन पेमेन्ट र २ लाख ५० हजारसम्म नगद छुटको घोषणा गरेको छ ।

साङयोङले ५ लाखसम्म नगद छुट र ४ लाखसम्म एक्सचेन्ज वोनस दिने नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले यसको अलावा ३ वर्षको वारेन्टी, ११ हजार रुपैयाँ बराबरको निःशुल्क एशोसरिज दिने घोषणा गरेको छ ।

फक्सवागनले पनि नयाँ वर्ष केन्द्रित योजना ल्याएको छ । तर, उसले कति रकम नगद छुट भन्ने विषयमा खुलाएको छैन ।


Back_to_top