काठमाडौं । हाइ भोल्टेज ब्याट्री उत्पादनमा सीएटीएलको दबदबा कायम छ । सन् २०२५ को पहिलो क्वाटरको रिपोर्ट अनुसार सीएटीएलले कुल बजार हिस्साको ३८.३ प्रतिशत ओगटेको हो ।
चीन सरकारले सन् २०२६ जुलाई १ तारिखबाट लागु गर्ने भनेको ‘नो फायर, नो एक्सप्लोजन’ परीक्षणमा सफल भइसकेको सीएटीएलको लोकप्रियता थप चुलिदै गएको छ । सन् २०२५ को पहिलो तीन महिनामा हाइभोल्टेज ब्याट्रीको प्रयोग २२१.८ गिगावाट आवर पुगेको छ । जुन अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा ३८.८ प्रतिशतले वृद्धि भएको हो ।
दक्षिण कोरियाको बजार रिसर्च गर्ने कम्पनी ‘एसएनइ’का अनुसार सीएटीएलले ८४.९ गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको तीन महिनामा ६०.८ गिगावाट आवर ब्याट्री मात्रै उत्पादन र बिक्री भएको थियो ।
दोस्रो स्थानमा अर्को चिनियाँ ब्राण्ड बीवाइडी छ । कम्पनीले १६.७ प्रतिशत बजार ओगटेको छ । उसले ३७ गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री गरेको हो । बीवाइडीले अघिल्लो वर्षको सोही अवधिमा २२.८ गिगावाट आवर मात्रै ब्याट्री बनाएको थियो ।
दक्षिण कोरियाली ब्राण्ड एलजी इनर्जीले १०.७ प्रतिशत बजार हिस्सा ओगटेको छ । एलजीले २३.८ गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री गरेको हो । जसन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतको वृद्धि हो । एलजीले समग्र बजार हिस्सा भने गुमाएको छ । उसको अघिल्लो वर्षको तीन महिनामा १२.९ प्रतिशत बजार हिस्सा रहेकोमा घटेर १०.७ मा झरेको हो ।
अर्को कोरियन ब्राण्ड ‘एसके अन’ चौथो स्थानमा परेको छ । उसले ४.७ प्रतिशत बजार हिस्सा आफ्नो नाममा राख्न सफल भएको छ । पाँचौ स्थानमा रहेको चिनियाँ सीएएलबीको भागमा ३.९ प्रतिशत बजार हिस्सा परेको छ ।
ब्याट्री उत्पादनमा गोसन हाइटेक ३.५ प्रतिशत बजार हिस्सा सहित छैटौं स्थानमा रहँदा कोरियन सामसङ एसडीआई सातौं स्थानमा छ । सामसङको बजार हिस्सा ३.३ प्रतिशत छ । त्यस्तै आठौं स्थानमा जापानी ब्राण्ड पानासोनिक छ । उसको पनि बजार हिस्सा ३.३ प्रतिशत छ ।
नवौं र दशैं स्थानमा दुई चिनियाँ ब्राण्ड ईभीई इनर्जी र एसभोल्ट इनर्जी छन् । दुबै ब्राण्डको बजार हिस्सा २.६ र २.५ प्रतिशत छ । बाँकी अन्य ब्राण्डले १०.६ प्रतिशत बजार हिस्सा ओगटेको छ ।