काठमाडौं । अहिले सवारी साधन बिक्रीको लागि अफसिजन मानिन्छ । कुनै पनि ठूला चाडवाड र अटो शो नभएकाले सवारीको बिक्री सुस्त छ ।
यद्यपि, आगामी आवको बजेटमा ईभीको कर बढाउने हल्लाले व्यापारीले सवारी आयात भने ह्वात्तै बढाएका छन् । वैशाख लागेपछि मात्रै करिब साढे २ हजार गाडी आयात गरिसकेका छन् । बिक्रेताहरूले बजारमा गाडीको माग भएरभन्दा पनि बजेटपछि भाउ बढ्ने देखेकाले धमाधम गाडी ल्याइरहेका हुन् ।
अहिले सवारी आयात बढे पनि बिक्री भने कम नै छ । अफसिजनमा पनि बिक्री बढाउन सवारी बिक्रेताले भने अनेका उपाय अपनाइरहेका छन् । केही समयअघि नयाँ वर्ष अफर ल्याएका बिक्रेताहरूले अहिले प्रि-बजेट स्कीम, एक्सचेन्ज क्याम्प जस्ता अफरहरू ल्याइरहेका छन् ।
ग्राहकको ध्यान आफूतर्फ तान्न बिक्रेताहरूले सडक कर, बीमा, नगद छुटदेखि मासिक किस्ता नै तिर्न नपर्नेसम्मका अफर ल्याएका छन् ।
कसको अफर कस्तो ?
बीवाइडीले वैशाख २४ देखि २७ गतेसम्म संचालन गरिरहेको छ । बीवाइडीको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ४ दिने एक्सचेन्ज क्याम्प संचालन गरेको हो ।
कम्पनीका अनुसार एक्सचेन्ज क्याम्पमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्राण्ड वा मोडलको गाडीसँग साटेर बीवाइडी एटो ३, डल्फिन र एम ६ साट्न सक्नेछन् । यसका लागि बेस्ट-इन-इन्डष्ट्रि भ्यालुएसन समेत पाउने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र स्पेसल नगद छुट पाउने छन् ।
त्यस्तै, एक्सचेन्ज क्याम्प अवधिभरी गाडी बुकिङ गर्ने ग्राहकमध्ये लक्की ड्रबाट ३ जनाले आफूले किनेको गाडीको १२ महिनासम्मको किस्ता निःशुल्क पाउने छन् । अर्थात् भाग्यमानी ३ जनाले फ्री ईएमआई सुविधा पाउने छन् । एक्सचेन्ज क्याम्प बीवाइडीका देशभर रहका शोरुमका साथै अन्य स्थानहरूमा संचालन हुनेछ ।
त्यस्तै, नेपालमा केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले संयुक्त रूपमा वैशाख २६ गतेदेखि ‘केई एक्सचेन्ज कार्निभल आयोजना गर्दैछन् ।
काठमाडौंको थापाथलीमा आयोजना हुने उक्त कार्निभलमा जुनसुकै ब्राण्डका गाडी सट्टापट्टा गर्ने वा नयाँ किन्ने ग्राहकले ६ लाख ५ हजार रुपैयाँसम्मको फाइदा लिन पाउने छन् ।
साथै, ग्राहकले एक्सचेन्ज बोनस, नगद छुट, पूर्ण बीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोस्चको वासिङ मेसिनसम्म पाउने कम्पनीले जनाएको छ ।
केईले नेपाली बजारमा आफ्ना इलेक्ट्रीक मोडलहरू ईक्यूट ०२, ईक्यूट ०४ र एक्सथ्री प्रो मोडल बिक्री गर्दै आएको छ ।
त्यसैगरी, दुइपाँग्रेतर्फ हाल बजाज मोटरसाइकलको ‘ग्राण्ड कार्निभल’ जारी छ । वैशाख १६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको उक्त कार्निभल आजसम्म चल्दैछ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले आयोजना गरेको यो कार्निभलमा ग्राहकले उत्कृष्ट भ्यालुएसन, सहज फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न सक्नेछन् ।
त्यस्तै, यामाहाले संचालन गरेको १ हप्ते लामो एक्सचेन्ज क्याम्प हिजो मात्रै सकिएको छ भने केही कम्पनीले एक्सचेन्ज क्याम्प संचालनको तयारी गरिरहेका छन् ।