काठमाडौं । सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले नेपालमै गाडी एसेम्बल गर्ने योजना सहित उद्योग दर्ता गरेको छ । ‘सिजी अटोमोटीभ्स प्रालि’को नामबाट दर्ता भएको उद्योगले वार्षिक १० हजार ४ पाङ्ग्रे, ३ हजार तीन पाङ्ग्रे र १० हजार दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको हो ।
उद्योग विभागमा साउन साउन १० गते दर्ता भएको उद्योग बारा जिल्लामा स्थापना गरिने उल्लेख छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ४ मा उद्योग रहने उल्लेख छ। उक्त उद्योगको अधिकृत पुँजी १ अर्व ३१ करोड ६९ लाख रहने छ भने उद्योगले ११३ जना दक्ष जनशक्तिलाई रोजगारी दिने उल्लेख छ ।
कम्पनीले एकसकेडी वा सिकेडी कस्तो किसिमको एसेम्बल प्लान्ट लगाउने हो भन्ने विषयमा केही उल्लेख गरेको छैन ।
सिजी मोटोकर्पले अहिले भारतमा उत्पादन भएका मारुती सुजुकीका उत्पादन विक्री गर्दै आएको छ । विशेषत कम मूल्यका कार उत्पादनमा मारुती सुजुकी परिचित ब्राण्ड हो ।


