काठमाडौं । प्रतिस्पर्धात्मक चिनियाँ अटोमोबाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाउन अटोमोबाइल निर्माताहरूले नयाँ र अनौठा उपायहरू अपनाउन थालेका छन् ।
यसै क्रममा चीनको सरकारी स्वामित्वमा रहेको डोङफेङको नयाँ नयाँ इलेक्ट्रीक एसयूभी ‘भोयाह प्यासन एस’ले विज्ञापनका लागि एउटा अभूतपूर्व स्टन्ट गर्दै विश्वको ध्यान खिचेको छ ।
भोयाह प्यासन एस एसयूभीले सुरुङ भित्र ३६० डिग्रीमा फनफन कार घुमाउँदै सबैलाई चकित पारेको हो । चीनको वुहानस्थित एक बन्द परीक्षण सुरुङमा यो सुटिङ गरिएको थियो ।
इन्जिनियरहरूका अनुसार गाडीलाई १३० किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा १६ डिग्रीको स्टेयरिङ एंगल बनाएर सुरुङको र्याम्पमा प्रवेश गराइएको थियो । वासिङ मेसिनमा कपडा घुमेझैँ सेन्ट्रीफ्युगल फोर्सका कारण गाडीका पाँग्राहरू सुरुङको भित्ता र छतमा अडिएका थिए । र, यो एसयूभी दोस्रो र्याम्पमा पुगेर सुरक्षित रूपमा रोकिएको थियो । यद्यपि, सुरुङको छतमा थप टायरका दागहरू देखिएकाले कम्पनीले यो स्टन्ट पूरा गर्न एकभन्दा बढी पटक प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ।
कम्पनीका अनुसार सुरुङभित्र ३६० डिग्रीको गोलचक्कर सफलतापूर्वक पूरा गर्ने यो विश्वकै पहिलो उत्पादनमूलक गाडी बनेको छ ।
कम्पनीले सन् २००० को दशकमा मर्सिडिज बेन्जले एसएलएस एएमजी गाडीले बनाएको चर्चित र विवादित विज्ञापनलाई पुनः दोहोर्याएको छ । उतिबेला पूर्व फर्मुला वान च्याम्पियन माइकल शुमाकरले सुरुङ भित्र गाडीलाई उल्टो चलाएको देखाइएको थियो । मर्सिडिजको उक्त भिडियो सम्पादन गरिएको भनेर विवादमा समेत परेको थियो । तर, डोङफेङले भने आफ्नो स्टन्ट १०० प्रतिशत वास्तविक भएको दाबी गरेको छ।
महँगो स्पोट्र्स कार फेरारी पुरोसाङ्गुए जस्तै देखिने यो चिनियाँ ईभी को सुरुवाती मूल्य करिब ४५ हजार ६०० अमेरिकी डलर मात्रै छ । ८०० भोल्ट आर्किटेक्चरमा बनेको यो गाडीमा ९८ किलेवाट आवरको ब्याट्री प्याक रहेको छ ।
यसको टु ह्वील ड्राइभ भर्सनले ७०० किमी र डुअल मोटर अल ह्वील ड्राइभ भर्सनले ६६० किमी सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । अल ह्वील भर्सनले ६३७ हर्सपावर शक्ति प्रदान गर्छ । शक्तिशाली मोटर भएकै कारण यो कारले केबल ४.५ सेकेण्डमा ० बाट १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ ।
यो गाडीमा हुवावेको आधुनिक क्वाड लाइडार ड्राइभिङ असिस्टन्स सिस्टम, ३३ वटा सेन्सर, १५.६ इन्चका दुईवटा डिस्प्ले र २९९इन्चको अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले जस्ता अत्याधुनिक फिचर छन् ।


