काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी चार्जिङ स्टेसनबाट १ हजार रुपैयाँ कर उठाउने भएको छ । आगामी आर्थिक वर्षबाट प्रत्येक चार्जिङ स्टेसनबाट १ हजार रुपैयाँ कर उठाउने भएको हो ।
हालसम्म विद्युत प्राधिकरणले २ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । यस्तै निजी क्षेत्रको तर्फ भने हालसम्म कसैले पनि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छैनन् ।
पछिल्लो समय सुन्दर यातायातले सुकेधारामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको छ । सुन्दर यातायातले आफुले सञ्चलनमा ल्याउन लागेको विद्युतीय बसका लागि आफ्नै चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
उपत्यकामा २० वटा र राजमार्गमा प्रत्येक ३० किलोमिटरमा एउटा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्ने विद्युत प्राधिकरणको योजना रहेको छ ।
यस्तै निजी तर्फ सुन्दर यातायातले करिब २२ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने योजना बनाएको सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए ।
यस्तै सुन्दरले उपत्यका भित्र मात्र ८ वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको थापाले बताए । उनका अनुसार चार्जिङ स्टेसन निर्माणका लागि महानगरले जग्गा उपलब्ध गराए एउटा चार्जिङ स्टेसन निर्माण गर्न ७५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।


