काठमाडौं । नेपालमा उपलब्ध कारको सुरुवाती मूल्य २० लाख रुपैयाँ रहेको छ । अहिले मारुतीको अल्टो कार किन्न पनि २० लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ । अल्टोसँगै मारुती सुजुकी एसप्रेसोको दुई भेरियन्ट पनि कम मूल्यमा पाइने कार हो ।
मारुती सुजुकीले अल्टो स्टायडर्ड भेरियन्टको मूल्य २० लाख ९ हजार र अल्टो एलएक्सआईको मूल्य २२ लाख ९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । नेपाली बजारमा अल्टो ट्याक्सीको रुपमा धेरै चल्तीमा रहेको कारण कारको रुपमा यसको विक्री अत्यन्त न्यून रहेको छ ।

मारुती सुजुकीले ‘माई फस्ट एसयूभी’ नारा सहित ल्याएको एस-प्रेसो नेपालमा उपलब्ध सस्तो कार खोज्नेको लागि सेकेन्ड मोडल हो । कम्पनीले यसको स्टायडर्ड भेरियन्टको मूल्य २३ लाख ४९ हजार रुपैयाँ र एलएक्सआई भेरियन्टको मूल्य २४ लाख ४९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । मूल्यकै कारण यसलाई किन्ने ग्राहक पनि राम्रै संख्यामा भेटिन्छ ।
सन् २०१७ ताका नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको स्टाइलिस कार डाट्सन रेडी गो थियो । त्यति बेला कम्पनीले १२ लाखदेखि १५ लाख रुपैयाँसम्म मूल्य राखेर विक्री गर्दै आएको डाट्सन रेडी गो फेसलिफ्टमा आएसँगै तिब्र गतिमा मूल्य वृद्धि सुरु भएको हो । अहिले रेडी गोको रेडी गोको म्यानुयल भेरियन्टको २५ लाख ४९ हजार र एएमटी भेरियन्टको २६ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

नेपाली बजारकै सर्वाधिक सफल हुन्डाईको इन्ट्री लेभल ह्याचव्याक सेन्ट्रोको सुरुवाती भेरियन्ट इराको मूल्य २५ लाख ९६ हजार रुपैयाँ रहेको छ । यो कारमा अन्यको तुलनामा पावरफुल र फोर सिलिण्डर इन्जिन भएको कारण सेन्ट्रो प्रतिस्पर्धी माथि भारी पर्दै आएको छ ।
अल्टोमा ७९७ सीसी क्षमातको इन्जिन रहेको छ । मारुतीले एस-प्रेसो र डाट्सनले रेडी गोमा १.० लिटर क्षमताको थ्रि सिलिण्डर इन्जिन प्रयोग गरेका छन् । त्यही हुन्डाईले सेन्ट्रोमा १.१ लिटर फोर सिलिण्डर इन्जिन दिएको छ ।
यसका अलावा बजारमा टाटा टियागो, रेनो क्वीड, सुजुकी सेलेरियो जस्ता मोडल ३० लाखभन्दा कम मूलयमा किन्न पाइन्छ ।

