गाडीको आयात रोकिएको विषयमा प्रधानमन्त्रीको चासो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन लगायतका गाडीमा लाग्ने स्पेयर पार्टस्को आयातको लागि बैंकहरुलाई एलसी नखोल्न दबाब दिएसँगै अटोमोवाइल ब्यवसायीको टीमले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

आज विहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले समस्या समाधानमा सरकारले पहल गर्ने बताएको नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका महासचिव सुरेशकुमार उप्रेतीले जानकारी दिए ।

‘हामीले अहिलेको समस्याको विषयमा प्रधानमन्त्रीसँग कुरा राखेका छौं । उहाँले सरोकारवालासँग छलफल गरेर चाँडै समस्या समाधान गर्ने बताउनु भयो’, महासचिव उप्रतीले मेरोअटोसँग भने ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा भेहिकल कमिटिका सभापति निराकार श्रेष्ठ, महासचिव सुरेशकुमार उप्रेती र कोषध्यक्ष मिलनबाबु मल्ल सहभागी रहेका थिए ।

नाडाका अध्यक्ष थापाले अत्यावश्यक सेवामा प्रयोग हुने साधनहरुको आयातदेखि सर्भिसको लागि आवश्यक बस्तुको आयात समेत रोकिएको जानकारी गराउँदै समस्या समाधान नभए कठिन अवस्था आउने बताएका थिए ।


Back_to_top