काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक चार पाङ्ग्रेको विक्री बढेसँगै फास्ट चार्जरको पनि स्थापना पनि बढ्दै गएको छ । बाटोमा इभीको संख्या बढ्दै जाँदा हाइवेमा राम्रै संख्यामा इभी देखिन थालेका छन् ।
काठमाडौं वा सहरी क्षेत्रमा मात्रै इभी चलाउने हो भने घरमा चार्ज गर्दा नै काफी हुन्छ । आफ्नो घरमै होम चार्जरले चार्ज गर्दा पनि सहरी क्षेत्रमा इभी चलाएर हिड्न केहि अफ्ठ्यो छैन ।
सहरमा मात्र इभी चलाउने हो भने बढीमा दिनको ५०/६० किलोमिटर चल्ने गर्छ । जसका लागि बीचमा चार्ज गर्न आवश्यक छैन । तर, हाइवेमा इभी चलाउने हो भने कम्तीमा पनि ३/४ सय किलोमिटरको रेन्ज आवश्यकता पर्छ । यसका लागि हाइवेको निश्चित दुरीमा इभीको फास्ट चार्जर हुन जरुरी छ ।
होम चार्जर वा थोरै क्षमताको चार्जरले अत्याधिक धेरै समय लाग्ने भएकाले हाइवेमा कुरेर बसिरहन सम्भव छैन । त्यसैले ग्राहकको आवश्यकतालाई हेर्दै टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले इलेक्ट्रीक भेहिकल विक्री सुरु गर्नुभन्दा अगाडिबाटै चार्जिङ इन्फ्रास्ट्रक्चरको विस्तार गर्दै आएको छ ।
कम्पनीले हालसम्म १० स्थानमा फास्ट चार्जर जडान गरिसकेको छ । कम्पनीले हिजै मात्र काठमाडौं आउने इभीहरुलाई लक्षित गरी धार्केमा फास्ट चार्जर स्थापना गरेको छ । प्रायः पोखरा वा नारायणगढबाट काठमाडौं आउने इभीको चार्ज धार्के नौविसेमा आइपुग्दा निकै कम भइसकेको हुन्छ ।
प्रायःजसो जाम पर्ने र लामो उकालो सुरु हुने यो खण्डमा इभीको चार्ज धेरै कन्जुम हुने गरेको छ । फलस्वरुप नागढुङ्गाको उकालो पार गर्नसमेत हम्मे हम्मे पर्ने गरेको छ । त्यसैले कम्पनीले आफ्नो धार्के स्थित सिप्रदी सर्भिस सेन्टरमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरेको छ । उक्त चार्जरले टाटा नेक्सनलाई ० बाट ८० प्रतिशत चार्ज गर्न जम्मा ६० मिनेट लाग्छ ।
सिप्रदीले यसअघि कुरीनटारको सिद्धार्थ रिभर्स साइड रिसोर्टमाा पनि यस्तै फास्ट चार्जरको स्थापना गरिसकेको छ । यसका अलावा पश्चिमतर्फको हाइवे समेट्ने गरी नारायणगढ, पोखरा, हेटौडा र भैरहवामा डीसी फास्ट चार्जर जडान गरिसकेको छ ।
त्यस्तै काठमाडौको बागडोल र रत्नपार्क तथा पूर्व तर्फ मुलकोट र इटहरीमा पनि फास्ट चार्जर जडान गरिसकेको छ । कम्पनीले यसै महिना भित्र अन्य ६ स्थानमा डिसी फास्ट चार्जर जडान गर्ने कार्य गरिरकेको छ । कम्पनीले मुख्य हाइवेको १५० किलोमीटरमा यस्तो फास्ट चार्जर जडान गर्ने जनाएको छ । यसका अलावा देशभरीको ५० भन्दा बढि होटल र सहरहरुमा एसी चार्जर स्थापना गरिसकेको जनाएको छ ।
एपबाटै जानकारी पाउने
सिप्रदीले अफ्ना इभी ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘इजेड’ नामको एप पनि ल्याएको छ । यो एपको माध्यमबाटै टाढैबाट आफ्नो स्मार्टफोनको माध्यबाट कुन स्थानमा चार्जर छ थाहा पाउन सकिन्छ । साथै उक्त एपबाट चार्जर खाली छ वा अन्य सवारीले प्रयोग गरिरहेको छ भन्ने जानकारी पनि रियल टाइममै पाउन सकिन्छ । ग्राहकले एपको प्रयोगबाटै आफ्नो अनुकुल समय बुक गर्ने र पेमेन्ट समेत यही एपबाट गर्न सक्नेछन् ।


