काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी नाका बन्द गरेको छ । चिनियाँ पक्षले तातोपानी भन्सार कार्यालयलाई सूचना पठाउँदै तत्कालको लागि नाका बन्द गरिएको जानकारी गराएको हो ।
यद्यपि, पर्यटकका लागि भने खुला नै रहने जानकारी गराएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत, दीपेन्द्र प्रकाश गिरीले चिनियाँ पक्षले अर्को सूचना नभएसम्मका लागि नाका बन्द गरिएको सूचना पठाएको जानकारी दिए ।
उनका अनुसार चिनियाँ पक्षले नाका बन्द गर्नुको कुनै कारण खुलाएका छैनन् । तातोपानीको विकल्पमा कोरला नाका हुँदै सामान आयात-निर्यात गर्न भनेको उनले बताए ।
‘पहिरोका कारण साउनदेखि नै तातोपानी नाकाबाट मालसामान आयात हुन सकेको छैन । बन्दै जस्तै छ । यसैबीच, आज चिनियाँ पक्षले अर्को सूचना नभएसम्मका लागि अस्थायी रूपमा नाका बन्द गरिएको सूचना पठाएका छन्,’ उनले मेरोअटोसँग भने, ‘नाका बन्द गर्नुको कारण खुलाएका छैनन् । तत्कालका लागि कोरलाबाट व्यापार गर्न भनेका छन् ।’
कोदारी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएसँगै तातोपानी नाका साउनको सुरूदेखि नै बन्द छ । पहिरो गएको ठाउँमा आवश्यक मर्मत गरी नाका संचालनमा ल्याउने तयारी भइरहँदा चीनले अकस्मात बन्द गरेसँगै अब कहिले खुल्छ भन्ने अनिश्चित भएको छ ।
भन्सार अधिकृत गिरीले नाका संचालन नहुँदा राजस्वमा समेत गम्भीर धक्का लागेको बताए । उनका अनुसार साउनमा २ अर्ब राजस्व उठाउने लक्ष्य राखिएकोमा करिब ९ करोड मात्रै संकलन भएको उनले जानकारी दिए ।
चीनसँगको मुख्य व्यापारीका नाका रसुवागढी भदौ १० गते आएको बाढीले सखाप बनाएको छ । विकल्पको रूपमा रहेको तातोपानी पनि एकपक्षीय रूपमा बन्द गरेसँगै चीनसँगको व्यापार निकै असहज हुने देखिएको छ ।
अब सडकमार्ग हुँदै चीनसँग व्यापार गर्ने एकमात्र विकल्प मुस्ताङस्थित कोरला नाका बनेको छ । तर, यो नाका सहज र छिटो छैन । तातोपानी र रसुवाको तुलनामा कोरलाबाट मालसामान ल्याउन महँगो र धेरै समय लाग्छ । साथै, पर्याप्त भन्सार पूर्वाधार समेत छैन ।
यसैबीच, भन्सार विभागले भने कोरला नाकाबाट सामान ल्याउन थप सहजीकरण गर्ने बताएको छ । विभागले मुस्ताङ भन्सारमा थप कर्मचारी पठाई जाँचपास प्रक्रिया सहज बनाइने बताएको छ । विभागले हेल्प डेस्क समेत स्थापन गरिसकेको छ ।


