काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड कालोपत्र सुरू भएको छ । ४ किलोमिटर लामो यो सडकको पहिलो चरणमा साढे २ किमीखण्डमा कालोपत्र सुरू भएको हो ।
यसअघि चैत ७ गतेदेखि २० गतेसम्म साँझ ६ बजेदेखि बिहान ५ बजे सवारी संचालनमा रोक लगाई उक्त सडकमा सिमेन्ट ट्रिटेड बेस (सीटीबी) राख्ने काम गरिएको थियो ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख (सीडीई)सुमन योगेशले धुलिखेल चोकबाट कालोपत्रको काम सुरू भएको जानकारी दिए । मौसमले साथै दिए यो साता भित्रै साढे २ किमी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको उनले बताए । हाल उक्त सडकको एकतर्फी लेन कालोपत्र थालिएको हो । यो साइड सकिएपछि अर्को साइडमा कालोपत्रको काम सुरू हुने उनको भनाइ छ ।
बाँकी १.५ किमी भने दोस्रो चरणमा कालोपत्र गरिने उनले बताए । उक्त सडकमा करिब ५०० मिटर भित्तो कटान र नाला निर्माण गर्न बाँकी छ । १५०० मिटरमा भने कटान र नालाको काम सकिएको उनले बताए ।
समग्रमा यो सडकको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । पुरानो ठेकेदारले करिब १२ प्रतिशत काम गरेको थियो । गौरी पार्वतीले धुलिखेलदेखि पकुचासम्मको २ किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस राख्ने काम सकेको थियो ।
पुरानो ठेक्का तोडी नयाँ ठेक्कामार्फत अघि बढाइएपछि यो सडकको कामले गति लिन थालेको हो । मंसिरदेखि काम थालेको सीएनएवान काली जेभीले ४ महिनामै थप ३८ प्रतिशत काम गरेको हो ।
उनले आगामी वैशाख भित्रै पूरै सडक कालोपत्र सक्ने लक्ष्य राखिएको बताए । कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिन उनको भनाइ छ ।
धुलिखेल-खावा सडक जमिनको सहतदेखि ५५ सेन्टिमिटर बाक्लो हुनेछ । जसमा २० सेमि सबबेस, १५ सेमि सीटीबी, १० सेमि ‘वेट मिक्स’, ६ सेमि डीबीएम (डेन्से बिटुमिनस म्याकाडम) र ४ सेमि बाक्लो अस्फाल्ट कालोपत्र गरिने छ ।
सुरूमा २२ महिनाभित्र सडकको काम सक्ने गरी गौरी–पार्वती निर्माण सेवासँग २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । कम्पनीले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अनुसार २०८० चैत १९ गतेभित्र काम सक्नुपर्नेमा पूरा नगरेपछि डिभिजनले गत २०८१ फागुन १५ गते ठेक्का सम्झौता तोडेको थियो ।
त्यसपछि सडक डिभिजन भक्तपुर मंसिरमा नयाँ ठेक्का लगाएको थियो । सीएनएवान काली जेभीले भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुसार १४ महिनामा २०८३ पुससम्मका काम सम्पन्न गरिसक्नुपर्नेछ ।
यो नेपालको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसहित सन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्ला जाने मुख्य सडक हो । यो सडक राजमार्ग समयमै नबन्दा यात्रु तथा स्थानीले ४ वर्षदेखि सास्ती खेप्दै आएका छन् । पानी पर्दा हिालाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । जसले ट्राफिक जाम बढाउनुका साथै दुर्घटनाको जोखिम ससमेत बढाएको छ ।

