काठमाडौं । नेपाल अटोपत्रकार संघ (जाम नेपाल)को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार र शनिबार भक्तपुरको नगरकोटमा सम्पन्न संघको चौथो साधारणसभा सहितको अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि उपाध्यक्ष रहेका थिए। उनी आर्थिक आवाज अनलाइन मिडियामा आबद्ध छन् ।
त्यस्तै, यसअघिको कार्यसमितिको महासचिव रहेका तोयानाथ पौडेल उपाध्यक्ष चयन भएका छन्। उनी अटोमोइल म्यागजिन र नेपाल अटो अनलाइनका संचालक हुन् ।
संघको महासचिवमा प्रयास श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शिलापत्र अनलाइनमा आबद्ध श्रेष्ठ यसअघि कार्यसमितिको सचिव थिए ।
यसैगरी सचिवमा वसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेल चयन भएका छन् । आर्याल नेपाली पैसा र गजुरेल मेरो अटो अनलाइन मिडियामा आवद्ध छन् । नयाँ कार्यसमिति सदस्यहरूमा सौरभ नेपाल (नेपाल ड्राइभ्स), अमृत चिमोरिया (रातोपाटी) र कमला भण्डारी (क्यापिटल नेपाल) सर्वसम्मत चयन भएका छन्।
संघको संशोधित विधानअनुसार ११ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था बमोजिम निवर्तमान अध्यक्षसहित दुईजना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ। निर्वाचित कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ।
निवर्तमान अध्यक्ष सागर गजुरेलले नवनिर्मित कार्यसमितिलाई बधाईसहित नेतृत्व हस्तान्तरण गर्दै संघको प्रगति र आवद्ध सदस्यहरुको हकहित र क्षमता विकास गर्ने कार्यमा नयाँ नेतृत्वले अझ सशक्त ढंगले काम गर्ने विश्वास व्यक्त गरे। साथै आफू पनि संघको टिममै रहेकाले सबै खाले काम कारबाही र योजनामा सहभागी र सहकार्य निरन्तर गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।


