पर्यटक बस चलाउनेलाई पनि पोशाक अनिवार्य

काठमाडौं । पर्यटक सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा भएको ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको हो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटक सवारी चालकका लागि पोशाक र परिचयपत्र अनिवार्यका लागि विभागले निर्णय गरिसकेको बताए । नेपाल घुम्न आउने पर्यटकलाई राम्रो व्यवहार गर्न र इमान्दार चालक बन्न आग्रह गर्दै उक्त निर्णय छिट्टै लागु हुने उनले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पेशामा रहेका चालकले आफ्नो पेशालाई अझै मर्यादित र सम्मानयोग्य बनाउन स्वअनुशासनमा रही ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बसाल्नुपर्ने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले २०६९ देखि सार्वजनिक सवारी साधनमा भाडा समायोजन नभएका कारण ट्याक्सीले ठग्ने प्रवृत्ति बढेको भन्दै तत्काल यसलाई रोक्न सरकारले भाडा समायोजन गर्नुपर्ने बताए ।


Back_to_top