बढ्यो विद्युतीय सवारीको आकर्षणः माग उच्च, आपुर्ति न्यून

काठमाडौं । पर्यावरणीय सन्तुलनको हिसाबले पेट्रोल/डजेल गाडीको विकल्पको रुपमा लिइएको विद्युतीय सवारीको प्रयोग विश्वव्यापी रुमपै बढीरहेको छ । अहिले संसारका चर्चित अटोमोबाइल कम्पनीले विद्युतीय सवारीको उत्पादन तथा बिक्रीलाई उच्च प्राथमिकता दिइरहेका छन् ।

जसको प्रत्यक्ष प्रभाव नेपाली अटो बजारमा देखिन थालेको छ । नेपालमा महिन्द्रा, हुन्डाई, बीवाईडी, किया, दायलगायतका विभिन्न कम्पनीका विद्युतीय गाडी बिक्री भइरहेका छन् । 

पछिल्ला केही वर्षयता, सडकमा फाट्टफुट्ट देखिने विद्युतीय सवारीको संख्या अहिले निक्कै बढेको देखिन्छ । नेपालमा विद्युतीय सवारी बिक्री गर्दै आएका कम्पनीहरु पनि विद्युतीय गाडी खरिद गर्न चाहाने ग्राहकको संख्या बढ्दै गएको  बताउँछन् ।

आम मानिसमा पर्यावरणीय चिन्ता बढेसँगै, विद्युतीय सवारी प्रति आकर्षण बढेको बिक्रेता कम्पनीहरुको भनाई छ । अधिकांश कम्पनीहरु सरकारी प्राथमिकतासँगै ग्राहकमा इभी प्रतिको आकर्षण अझै बढ्दै गएकाले छिट्टै नेपाली सडकमा विद्युतीय सवारी र ग्यासोलिन गाडीको संख्या बराबर हुने कल्पना गर्छन् ।  

चार्जिङ स्टेशन छैन, विज्ञ मेकानिक्स खोई ?

महिन्द्राको लागि नेपालको आधाकारीक बिक्रेता अग्नी इनर्जीले नेपाली बजारमा इ भेरिटो, इटुओ र इ सुप्रो तीन वटा इलेक्ट्रीक गाडी बेच्दै आएको छ । सातामा पाँच युनिटसम्म विद्युतीय सवारी बिक्री भइरहेको कम्पनीको भनाई छ । कम्पनीका कार्यकारी प्रबन्धक प्रमोद भण्डारी तीन वटै इलेक्ट्रीक मोडलले राम्रो मार्केट पाइरहेको बताउँछन् ।

भण्डारी विद्युतीय सवारी प्रयोगलाई थप व्यवस्थित तथा सुदृढ बनाउन सबै बिक्रेता कम्पनीले चार्जिङ स्टेशनभन्दा पनि विज्ञ मेकानिक्स र आफ्टर सेल्स सर्भिसलाई ध्यान दिनुपर्ने बताउँछन् ।

हाल, कम्पनीले बिक्री गर्दै आएको इ भेरिटो ३० लाख २० हजार, इटुओको दुई भेरियन्ट २४ लाख र २२ लाख ६५ हजार तथा इ सुप्रो २६ लाख रुपैयाँ रहेको छ ।

माग उच्च, आपुर्ति कम

हुन्डाई मोटरको नेपालका लागि आधिकारीक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडका जनरल म्यानेजर रुपेश शर्मा भट्ट ग्राहकको माग अनुरुप इलेक्ट्रीक कार कोनाको आपुर्ति गर्न नसकेको बताउँछन् ।

‘कोनाको बुकिङ १०० भन्दा माथि छ । हामीले बुकिङ अनुसार कोनाको आपूर्ती गर्न सकेको भए ३ सय भन्दा बढी बिक्री हुने थियो । हामी ग्राहकको माग अनुरुप गाडी उपलब्ध गराउन असमर्थ भएका छौं’, भट्टले भने । 

नेपालमा मात्रै नभई संसारभर नै बुकिङ भएअनुसार कोना आपुर्ति हुन नसकेको उनले दोहोर्याए । कम्पनीले बुकिङ भएको करिब दुई महिना पश्चात्  ग्राहकलाई कार उपलब्ध गराउँदै आएको छ ।

हाल, कम्पनीले लक्ष्मी बैक, स्टान्र्डड चार्डड, एभरेष्ट बैंकबाट ८० प्रतिशत फाइनान्स सुविधामा कोनाको बिक्री गर्दै आएको छ ।

एमजी इजेडएसको आक्रामक बुकिङ

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले एमजी इजेडएस नाडा अटो शोमा ल्याउने तयारी गरिहेको छ । गत बिहीबारबाट औपचारिक रुपमा बुकिङ खुलेको एमजी हालसम्म २७ वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका जनरल मेनेजर सचिन अर्यालले दसैंबाट एमजी इजेडएसको बिक्री सुरु गर्ने जानकारी दिए । अहिले कम्पनीले १ लाख रुपैयाँ लिएर एजेडएसको बुकिङ सुरु गरेको हो । एमजी इजेडएसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ सुरु गरिएको हो । 

कियाको प्राथमिकतामा चार्जिङ स्टेशन

कियाले नेपाली बजारमा दुई इलेक्ट्रीक कार ‘किया शोल इभी’ र किया निरोको बिक्री गर्दै आइरहेको छ । असार महिनामा नेपाल भित्रिएको निरोको बुकिङ एक सय माथि पुगेका छ भने, हालसम्म २८ युनिट निरो ग्राहकलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

तत्कालको लागि  बुकिङ नै बन्द गर्नुपर्ने अवस्था आएको कम्पनीका डेपुटी जनरल मेनेजर अनिश लामिछानेले बताए । ग्राहकको वेटिङ पिरियड नलम्बियोस भनेर हाललाई बुकिङ कम लिएको उनले बताए ।

सुरुवाति मूल्य ६६ लाख ९० हजार रुपैयाँ रहेको किया निरो २० प्रतिशत डाउनपेमेन्ट र १०.४९ ब्याजदरमा फाइनान्स सुविधासहित बिक्री भइरहेको छ ।

हाल, कम्पनीले एनएमबी बैंक, स्टान्र्डड चाटर्ड बैंकबाट फाइनान्स सुविधा प्रदान उपलब्ध गराउँदै आएको छ । इलेक्ट्रीक भेइकलको प्रयोगलाई व्यवस्थित बनाउने उद्देश्यसहित कम्पनीले प्रमुख सहरमा चार्जिङ स्टेशन राख्ने तयारी गरिरहेको छ ।

बीवाइडीको दोस्रो इलेक्ट्री कारः एम ३

चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीले नेपाली बजारमा मिनि मल्टि यूटिलिटी भेइकल (एमपीभी) एम–३ ल्याउने भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी ल्याउन लागेको हो ।

कम्पनीका मिडिया कोअर्डिनेटर साहिल श्रेष्ठले इ६ ले निक्कै राम्रो बजार पाइरहेको बताउँदै विद्युतीय सवारीको बढ्दो बजारलाई ध्यानमा राख्दै एम ३ ल्याउन लागेको जानकारी दिए ।


Back_to_top