काठमाडौं । भारतीय बजारमा विद्युतीय स्कुटरको बिक्री तिब्र गतिमा भइरहेको छ । खासगरी टीभीएस, बजाज र हिरो जस्ता ब्राण्ड विद्युतीय स्कुटरको उत्पादनमा केन्द्रित भएसँगै बिक्री पनि बढेको हो ।
सन् २०२५ सेप्टेम्बरको बिक्री तथ्यांक बाहिर आएसँगै स्टार्टअप कम्पनी एथर स्कुटर सेग्मेन्टमा निकै बलियो देखिएको छ । एथरले बजाज र ओला जस्ता ब्राण्डलाई पछाडि पार्दै अहिले बलियो बनेको हो ।
फ्यामली स्कुटरको नारासहित आफ्ना उत्पादन बिक्री गर्दै आएको टीभीएस पहिलो स्थानमा देखिएको छ । टीभीएसले सेप्टेम्बर महिनामा २५ हजार ७२ युनिट विद्युतीय स्कुटर बिक्री गरेको हो ।
टीभीएसलाई पच्छाइरहेको एथरले २० हजार ९५४ युनिट स्कुटर बिक्री गरेको छ । एथरको बिक्री अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बरले बढेको हो ।
विद्युतीय स्कुटर चेतक ल्याएदेखि नै बजाजले पनि निकै राम्रो बजार हिस्सा पाइरहेको छ । बजाजले २० हजार ७५० युनिट विद्युतीय दुई पाङ्ग्रे साधन बिक्री गर्दै धेरै बिक्री हुने ब्राण्डको सूचीमा तेस्रो स्थान ओगटेको छ ।
चर्चित स्टाटअप कम्पनी ओला धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनीको सूचीमा चौथो स्थानमा परेको छ । ओलाले सेप्टेम्बर महिनामा १४ हजार ४८५ युनिट स्कुटर बिक्री गरेको हो ।
हिरोको इलेक्ट्रीक ब्राण्ड भिडाको बिक्री पनि निकै राम्रो स्थानमा पुगेको छ । सूचीमा पाँचौ स्थानमा परेको भिडा ब्राण्डले १३ हजार ६२९ युनिट स्कुटर बिक्री गर्दै आफुलाई निकै बलियो बनाउँदै लगेको छ ।

