काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको ९ महिनामा कम्बस्चनको तुलनामा ईभीको आयात बढी देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आचु आर्थिक वर्षको ९ महिनामा २ हजार ४५१ यूनिट विद्युतीय कार आयात हुँदा २ हजार ८ यूनिट मात्रै कम्बस्चन इन्जिन भएका चार पाङ्ग्रे साधन आयात भएका छन् ।
सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै निरन्तर प्रतिबन्ध कायम राखेको पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात पुस १ गतेबाट खुल्ला गरेको थियो । आयात खुल्ला भएपनि ३ महिनामा एक हजार यूनिट कार पनि आयात हुन सकेको छैन ।
चालु आवको ९ महिनामा २ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको २ हजार ८ यूनिट कम्बस्चन इन्जिन भएका चार पाङ्ग्रे साधन आयात भएका छन् । उक्त आयातबाट सरकारले ५ अर्ब ७७ करोड रुपैयाँ भन्सार विन्दुमा राजश्व उठाएको छ ।
यहि अवधिमा ६ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको २ हजार ४५१ यूनिट ईभी आयात हुँदा राज्यले १ अर्ब ९३ करोड रुपैयाँ भन्सार विन्दुमा राजश्व पाएको छ । कम्बस्चन इन्जिन भएका गाडी भारत, चीन, जापान, थाइल्याण्ड, फ्रान्स लगायतका देशबाट आयात भएका छन् ।
ईभीको आयात पनि सबैभन्दा धेरै भारत, चीन, दक्षिण कोरिया लगायतका देशबाट भएका छन् । भारतीय ब्राण्ड टाटाले उत्पादन गरेका गाडी यो अवधिमा सबैभन्दा धेरै आयात भएका छन् । त्यसैगरी कोरियन ब्राण्ड हुन्डाईका ईभी, चिनियाँ ब्राण्ड बीवाइडी, नेटा लगायतका ब्राण्डले राम्रो संख्यामा ईभी ल्याएका छन् ।
इन्जिन क्षमताको आधारमा सबैभन्दा धेरै कार १ हजार सीसीदेखि १५ सय सीसीसम्मका गाडीको आयात धेरै देखिन्छ । त्यस्तै ईभीमा सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमता भएका कारको बाहुल्यता रहेको छ ।

