कहाँ हरायो टोयोटा र सुजुकीको ‘इन्डिया मेड ईभी’ ?

काठमाडौं । दुई जापानी ब्राण्ड भारतमा ईभी उत्पादनलाई लिएर निकै अन्योलमा छन् । दुवै ब्राण्ड भारतमा टप ५ भित्र पर्छन् । तर, उनीहरूको ईभी उत्पादनको योजना भने धेरै कुराले गोलमाल भइरहेको देखिन्छ ।

खासगरी सुजुकी अहिले भारतमा ‘अल टाइम हाइ डिमाण्ड’को अवस्थामा छ । अक्टोबर महिनामा २ लाख १६ हजार युनिट कार होलसेल बिक्री गर्दै सुजुकीले आफूलाई भारतमा थप मजबुत बनाएको छ ।

टोयोटा पनि भारतमा क्रमिक रूपमा बिक्री बढाउँदै लगेको ब्राण्ड हो । उसको बिक्री पनि अक्टोबरमा ४२ हजार युनिट पुग्यो । जुन आफैँमा टप ५ ब्राण्ड भित्र पर्न काफी भयो । उसको पेट्रोल र डिजेल गाडीको बिक्री बढ्दो नै छ । त्यसैले ईभीमा दुवै ब्राण्ड आक्रमक छैनन् ।

सुजुकीले भारतमा उत्पादन गरेर युरोपमा ईभी बिक्री थालेको ५ महिना भइसक्यो । जनवरीमा भएको भारत मोबिलिटी एक्सपो २०२५ मा देखाएको ई भिटारा मार्चबाट बिक्री थाल्ने जनाएको थियो । तर, अहिलेसम्म पनि कम्पनीले ई भिटाराको बिक्री थालेको छैन ।

भारत मोबिलिटी एक्स्पो २०२५ मै टोयोटाले पनि अर्बान क्रुजर ईभी देखाएको थियो । यी दुवै ब्राण्डले देखाएको गाडी एउटै हो । दुई फरक ब्राण्डमा केही डिजाइनमा परिवर्तन गरेर बजारमा ल्याउन लागिएका एसयूभी अझै कति महिनापछि बजारमा आउँछन्, एकिन छैन ।

भारतमा सुजुकी र टोयोटा बीच रणनीतिक साझेदारी भइरहेको छ । यस्तोमा यी दुवैै ब्राण्डले उत्पादन गरेका एसयूभी त्यही रणनीतिको हिस्साको रूपमा आउने पक्का छ । तर, भारतमा ईभीको बजार हिस्सा निकै कम भएको कारण दुवैै जापानी ब्राण्डको ध्यान पेट्रोलियम गाडीमा भएको हुन सक्ने अनुमान छ ।

नेपालमा छैन रौनक

भारतीय कम्पनीले उत्पादन गर्ने ईभीले अहिलेसम्म नेपालमा रौनक सृजना गर्न सकेको छैन । त्यस मामलामा टाटा अपवाद हो । टाटाका ईभी नेपाली बजारमा राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।

विस्तारै भारतीय कम्पनीहरूले पनि ईभीमा केन्द्रित गर्दैछन् । महिन्द्रा र हुन्डाईले भारतमा बनाएको ईभी नेपालमा चर्चा सुरू भएको छ । तर, जापानी ब्राण्डले बनाएका ईभी समयमै नआउँदा धेरैले चर्चामा सामेल नै हुन छाडेको भान हुन्छ ।

चिनियाँ ईभीमा भएको टेक फिचर, ब्याट्री टेक्नोलोजी र लग्जरी फिचरको अगाडि भारतमा सुजुकी र टोयोटाले बनाएका उत्पादन नेपालमै टिक्छन् नै भन्न सकिँदैन । तर, सहज पार्ट्स उपलब्ध हुने र सर्भिसमा कम्पनीहरू बलियो भएको कारण औसत व्यापर भने गर्ने अनुमान छ ।

यी सबै कुरा हुनको लागि टोयोटा र सुजुकी जस्ता ब्राण्डले भारतमा उत्पादन गरेका ईभी सबैभन्दा पहिला भारतमै र त्यसपछि नेपालमा बिक्री सुरू हुनुपर्छ ।


Back_to_top