फास्ट ट्रयाक निर्माणका लागि आगामी बजेटमा २० अर्ब माग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) का लागि २० अर्ब बराबर बजेट माग गरेको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा फास्ट ट्रयाकका लागि २० अर्ब रुपैयाँको हाराहारीमा बजेट माग गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले यो वर्ष मन्त्रालयले पाएको १ खर्ब ३७ अर्बको सिलिङ भित्र रहेर फास्ट ट्रयाकको लागि सो रकम माग गरिएको जानकारी दिए ।

सेनका प्रवक्ता यमप्रशाद ढकाल अनुसार सो बजेट आउदो आर्थिक वर्षभित्र ३ विधामा काम गर्नका लागि छुटाइको हो । उनले सो बजेट मार्फत टनेल खन्ने, पुल बनाउने र सडक निर्माण गर्ने काममा खर्च गरिने जानकारी दिए ।

‘फास्ट ट्रयाकको ३ कामका लागि यो बजेट छुट्याइएको हो, यसले आगामी आर्थिक वर्षमा तोकिएको काम पुरा गर्न पर्याप्त हुनेछ,’ ढकालले मेरोअटोसँग भने ।

यस्तै फास्ट ट्रयाकको डीपीआर (बिस्तृत आयोजना प्रतिबेदन) अझै मन्त्रालयबाट पास हुन नसक्दा अघि बढ्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०७५÷७६ मा १५ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ फास्ट ट्रयाक निर्माणका लागि विनियोजन गरिएको थियो । सो मध्य ५ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ मात्र खर्च भएको छ भने, बाँकी ९ अर्ब रुपैयाँ फिर्ता गरिएको सेनाले जानकारी दिएको छ ।

फास्ट ट्रायाक निर्माणको क्रममा आर्थिक वर्ष २०७५÷७६ मा १ हजार ३७२ वटा रुख कटान भएको छ, भने ५८ लाख घनमिटरको काम सकिएको उनले जानकारी दिए ।

त्यसबाहेक बाटो नभत्कियोस् र साइडमा पहिरो नजाओस भनेर वाल निर्माण भइरहेको उनको जानकारी दिए । यो चालु आर्थिक वर्षमा १७ किलोमिटर सडक खण्डमा साइड वर्क गरिरहेको सेनाको भनाई छ ।

फास्ट ट्रायाक निर्माणका लागि ३१ वटा कम्पनीले काम गरिरहेका छन् । डीपीआर निश्चित भएर आएको खण्डमा सबै तिरबाट एकै साथ काम हुने ढकालले बताए ।

फास्ट ट्रायाक निर्माणमा नेपाली सेनाले ११ वटा क्याम्प बनाएर काम गरिरहेको छ  ।


Back_to_top