काठमाडौं । चिनियाँ टेक जाइन्ट हुवावेले कारहरूका लागि एडास लेभल-४ तयार पारिसकेको छ । अहिले चल्तीका चिनियाँ ईभीमा एडास लेभल-२ प्रयोग हुँदै आएकोमा हुवावेले नयाँ लेभल-४ प्रयोग गर्न थालेको हो ।
हुवावे, चांगान अटोमोबाइल र सीएटीएल मिलेर स्थापना गरेको कार ब्राण्ड अवतार सेभेनमा नयाँ एडास सिस्टम प्रयोग भएको छ । तीन अग्रणी कम्पनीको संयुक्त लगानीमा स्थापना भएको ब्राण्ड अवतार हो ।
हुवावेको एडास-४ लाई एड्भान्स इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमलाई नवीन संस्करण मानिन्छ । कम्पनीका अनुसार नयाँ एडास सिस्टम ‘एण्ड टु एण्ड आर्किटेक्चर’मा आधारित छ । जुन हुवावेले यसअघि ल्याएको एडास ३.० भन्दा बढी स्मुद, सुरक्षित र राम्रो ड्राइभिङ अनुभव प्रदान गराउन सक्ने किसिमको छ ।
यसको मुख्य विशेषता भनेको सेन्सर सेटअप हो । उच्च गुणस्तरको २७ वटा सेन्सर यसमा प्रयोग गरिएको छ । १ लाइडार, ३ वटा फोरडी मिलिमिटर वेब राडार, १२ अल्ट्रासोनिक राडार र ११ वटा हाइ डेफिनेसन क्यामेरा प्रयोग भएको छ ।
चार तहमा प्रदान गरिएको सुरक्षा सिस्टमले ३६० डिग्री अवस्था समेट्छ । निकै वाइड समेट्ने लाइडारले २५० मिटर अगाडिको अवस्था पत्ता लगाउने क्षमता राख्छ ।

नयाँ एडास-४ मा हेबी ब्रेकिङमा ३० देखि ७० प्रतिशत सुधार गरिएको छ । ट्राफिक इफिसियन्सीमा २० प्रतिशतले सुधार हुने र वरपरको अवस्था अनुसार गाडीले निर्णय लिन सक्ने क्षमता वृद्धि भएको छ ।
चालकको ड्राइभिङ अनुभव सुधार गर्न पनि एडास-४ सफल भएको छ । पार्किङ टु पार्किङ, हाइवे र सिटी नेभिगेसन, सहजै भेहिकल ट्रयाकिङ, अनावश्यक ब्रेकिङ र तीव्र गतिलाई पनि यसले सहजै नियन्त्रणमा लिनेछ । जसको कारण सुरक्षित यात्रा सहजै पाउन सकिन्छ ।
यसभित्र सुरक्षाको लागि प्रयोग हुने फिचरहरूमा व्यापक वृद्धि भएको छ । जहाँ स्पीड, दिशा, टार्गेट, मौसम लगायतका गाडी चलाउँदा आउन सक्ने अफ्ठ्यारासँग जुध्ने क्षमता रहेकोछ । एड्भान्स अटोमेटिक ब्रेकिङ तथा जस्तोसुकै अचानक आउन सक्ने दुर्घटना न्यूनीकरण गर्ने र चालक अशक्त भएमा आकष्मिक कल गर्ने क्षमता पनि एडास-४ सँग छ ।
पुराना मोडलहरूमा पनि ‘ओभर दी एयर’ अपडेट उपलब्ध हुनेछ । यसलाई अहिले चीनमा सबैभन्दा एड्भान्स कन्जुमर इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम भनिन्छ । नेपाली बजारमा पनि छिट्टै अवतार ७ एसयूभी आउने क्रममा छ । यो नेपाल आउने पहिलो एडास लेभल-४ भएको एसयूभी हुनेछ ।


