काठमाडौं । दक्षिण एशियाली बजारमै ईभीको ग्राहक औषतमा धेरै भएको देशमा नेपाल पर्छ । नेपालमा ब्याट्री इलेक्ट्रीक भेहिकलको स्विकार्यता एकदमै राम्रो छ । विश्व बजारमा ईभी भर्खरै विकास र बिस्तारको बाटोमा लाग्दा नेपाली सडकमा साना साइजका रेभा र इटुओ जस्ता कार दौडन थालेका थिए ।
विक्रम सम्बत २०७२ सालमा भारतले लगाएको नाकाबन्दीपछि पेट्रोलियम पदार्थको हाराकार भएपछि धेरैले पेट्रोलियम पदार्थको विकल्पमा ईभी चढ्ने योजना बनाए । त्यही विन्दुबाट नेपालमा ईभीको कर छुट दिने निर्णय सरकारले गरेको थियो ।
सरकारले करमा सहुलियत दिएपनि खोजेको जस्तो डिजाइन र रेन्ज दिने ईभी बजारमा उपलब्ध थिएनन् । तर, २०७५ बाट भने हुन्डाई कोना र एमजी जेडएस ईभी जस्ता मोडल आएर बजारमा निकै ठूलो प्रभाव जमाउन सफल भए । यद्यपि, सरकारको अस्थिर नीतिको शिकार नागरिक र अयातकर्ता बने । सरकारले कर चलाएकै कारण सन् २०२१ मा सर्वाधिक विक्री भएको एमजी जेडएस ईभी विगत ११ महिनादेखि एक यूनिट पनि आयात भएको छैन ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत १०० किलोवाटसम्मका मोटर जडान भएका कारमा १० प्रतिशत भन्सार र सून्य अन्तःशुल्क लगाएको कारण यो सेग्मेन्टमा केही गाडी राम्रो संख्यामा विक्री हुँदै आएका छन् । तर, १०० किलोवाटभन्दा माथि क्षमताका मोटर जडान भएको गाडीमा धेरै कर लगाइएको कारण गाडी महंगो भएको छ ।
पछिल्लो समयमा नेपाली बजारमा टाटा, हुन्डाई, बीवाइडी र नेटा ब्राण्डका ईभी राम्रो संख्यामा आयात भइरहेको देखिन्छ । यी सबै ब्राण्डले विक्री गर्दै आएका १०० किलोवाट भन्दा कम क्षमताका मोटर जडान भएको ईभीमा ग्राहकको आकर्षण देखिन्छ । त्यसैले ६० लाखभन्दा कम मूल्यका ईभी किन्ने योजना बनाएकाहरुले टेष्ट ड्राइभ गर्नै पर्ने चार मोडल निम्नअनुसार छन् ।
टाटा नेक्सन ईभी
टाटा मोटर्सको सबैभन्दा सफल प्यासेन्जर कार नेक्सन ब्याट्री इलेक्ट्रीक भर्सनमा बजारमा आएदेखि नै धेरैले यसलाई आफ्नो ग्यारेजमा लान चाहेको देखिन्छ । पहिलो वर्ष नै एक हजार यूनिट हाराहारी विक्री भएको नेक्सन ईभी उच्च ग्राउन्ड क्लियरेन्स र कम मूल्यको कारण धेरैले किनेका हुन् ।
नेक्सनको पेट्रोल इन्जिन भएको टप भेरियन्टभन्दा ११ लाख कम मूल्यमा ईभी पाएपछि धेरैले नेक्सन ईभी खरिद गरेका हुन् । नेक्सन ईभी आकर्षक डिजाइन र २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स भएका नेपाली बाटो सुहाउदो देखिएको हो ।

टाटाको नेक्सनले क्रयास टेस्टमा फाइभ स्टार रेटिङ पाएकाले पनि नेक्सनको बिक्रीलाई थप प्रोत्साहन दिएको छ । एक पटकको फुल चार्जमा २५० किलोमिटरसम्म सहजै रेन्ज पाउन सकिने र यात्राको क्रममा चार्ज गर्नु परेपनि प्रमुख सहर तथा हाइवेमा पनि फास्ट चार्जर उपलब्ध छन् ।
त्यसैगरी टाटाले देशभर निर्माण गरेको शाखा संजाल र सर्भिस नेटवर्कको कारण पनि नेक्सन ईभी धेरै किन्न आँट गरेको देखिन्छ । नेक्सन ईभीसँगै कम्पनीले टिगोर ईभी पनि राम्रो संख्यामा विक्री गर्दै आएको छ । नेक्सन ईभीको मूल्य ३८ लाखदेखि ४४ लाख रुपैयाँसम्म कायम गरेर सिप्रदी ट्रेडिङले विक्री गर्दै आएको छ ।
बीवाईडी इ-६
चिनियाँ ब्राण्ड बीवाइडी सन् २०१७ देखि नेपालमा उपलब्ध छ । सुरुमा ठूलो साइजको इलेक्ट्रीक एसयूभी बजारमा ल्याएर बीवाइडीले धेरैको मन जित्न सफल भएको थियो ।

महंगो मूल्य र यसलाई कसरी संचालन गर्ने भन्ने अन्योलताले गर्दा धेरैले सुरुमा ई-६ किन्ने आँट गरेनन् । तर, विस्तारै ग्राहकको रोजाइमा पर्न सफल इ-६ को नयाँ जेनेरेशन मोडल आएपछि भने विक्रीमा उछाल नै आयो । बीवाइडीको ब्लेड टेक्नोलोजीमा आधारित ब्याट्री र ५२१ किलोमिटर रेन्जको कारण यसको विक्री बढेको मान्न सकिन्छ ।
आकर्षक डिजाइन, यथेस्ट क्याविन स्पेश र बलियो टेक्नोलोजीमा आधारित भएकै कारण ई-६ धेरै मानिसले छनोट गरेका हुन् । साइमेक्स इंकले यसको मूल्य ५९ लाख रुपैयाँ तोकेर विक्री गरिरहेको छ ।
हुन्डाई कोना
हुन्डाई मोटर ग्रुपले पहिलो क्रसओभर एसयूभीको रुपमा ल्याएको कोना सन् २०१८ बाट नेपालमा उपलब्ध भएको हो । नेपाल आएदेखि नै कोना ईभीले एकनासको विक्री पाइरहेको छ ।
१०० किलोवाट क्षमताको मोटर, ३०० किलोमिटर रेन्ज, आधुनिक डिजाइन र उत्कृष्ट फिचरको संयोजन भएकै कारण कोना ईभीले राम्रो संख्यामा ग्राहक पाइरहेको हो ।

आकर्षक डिजाइन र अत्याधुनिक फिचरका अलावा नेपालमा रहेको हुन्डाईको ब्राण्ड भ्यालुका कारण पनि कोना चढ्ने बढीरहेका छन् । देशका प्रमुख सहरहरुमा फैलिएको हुन्डाईको नेटवर्क तथा सर्भिस सेन्टरको कारण पनि हुन्डाईका ईभीको विक्री बढ्न सहयोग पुगेको छ ।
हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोनाको मूल्य ६० लाखदेखि ६५ लाखसम्म कायम गरेर विक्री गर्दै आएको छ ।
नेटा भी
नेपाली बजारमा उपलब्ध मध्ये सबैभन्दा पछि आएको र चर्चा पाएको ब्राण्ड नेटाको भी मोडल हो । नेटा भी एउटा कम्प्याक्ट क्रसओभर हो । सानो साइज, चर्चित इलेक्ट्रीक कार टेस्लाबाट प्रेरित फिचर यसको मुख्य आकर्षण हो ।

चौधरी समूहले नेपाल ल्याएको नेटा भी ३०० किलोमिटर माथिको रेन्ज, आधुनिक फिचर, उत्कृष्ट क्याविन र चलाउन सहज भएकै कारण धेरै मासिले यसलाई खरिद गरिरहेका छन् ।
चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याएर ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको नेटा भी अहिले सहजै ग्राहकले खरिद गर्न सक्नेछन् ।

