विद्युतीय गाडी बेचेको बेच्यै, चार्जर खोई ?

काठमाडौं । विद्युतीय गाडीको संख्यासँगै चार्जिङ पूर्वाधारको अभाव हुँदा सार्वजनिक यातायातमा प्रयोग भएका विद्युतीय भ्यानहरूले बाटोमा दुःख पाउने अवस्था सृजना भएको छ ।

सीमित स्थानमा मात्रै चार्जिङ स्टेशन निर्माण हुनु र भाडामा चल्ने यातायातको साधनको रेन्ज कम हुँदा त्यसको सबैभन्दा ठूलो समस्या यात्रुले भोग्दै आएको देखिन्छ । राजमार्गमा यात्रा गर्ने यात्रुहरू २/३ घण्टासम्म चार्जिङको लागि गाडी लाइनमा बस्नु पर्ने भएपछि विरोधका स्वरहरू बोल्दै गरेको भेटिन्छन् ।

धनगढीका महेन्द्रा कडायत वीरगञ्जबाट चितवनको यात्रामा विद्युतीय माइक्रो बस चढेर निस्केका रहेछन् । तर, हेटौंडाको रातमाटेमा करिब २ घण्टा लाइनमा गाडी बसेपछि बिजुली कट भएछ । उनी चढेकाे गाडी फेरि हेटौंडा बजारमा रहेको सीजीको चार्जर भएको स्थानमा आयो । त्यहाँ पनि त्यस्तै लाइन थियो । उनी त्यहाँ चालकसँग आफ्नो पैसा फिर्ता दिन भन्दै थिए ।

‘मेरो पैसा पनि फिर्ता दिँदैन, गाडी पनि लाँदैन । मेरो जरुरी काम थियो छुट्न लाग्यो,’ कडायतले मेरो अटोसँग भने ।

त्यही चार्जको लाइनमा रहेको गाडीमा रहेका भारतको उत्तराखण्डका नासिर मोहम्मदको समस्या पनि त्यस्तै थियो । उनी चन्द्रपुरबाट नारायणगढ जाँदै रहेछन् । उनको अवस्था पनि त्यही थियो । उनले विद्युतीय साधन आफ्नो देशमा नभएको बताए ।

‘यो त समयको बर्बादी भयो नि, अरू गाडीमा पेट्रोलको लागि कुर्नु त पर्दैन । मेरो बेलुका काठमाडौं जाने काम छ । यहाँ राति नारायणगढ नै नपुग्ने भइयो,’ नासिरले भने ।

गाडी बेचेको बेच्यै, चार्जिङ थप्न उदासिन

अहिले विद्युती साना माइक्रोबसको संख्या १ हार यूनिट माथि पुगिसकेको यातायात कार्यालयमा भएको दर्ताले नै देखाउँछ । साना, छोटा र लामो रुटमा समेत संचालनमा आएको यस्ता माइक्रोबस चार्ज गर्न हानथाप नै हुने गरेको छ ।

विशेषगरी, खुर्कोट, मूलकोट, सिन्धुली, बर्दिवास, इटहरी, हरिवन, हेटौंडा, नारायणगढ जस्ता स्थानमा रहेका जीबीटी चार्जरमा लामो लाइन बस्नु पर्ने अवस्था छ । यहाँ एक स्थानमा एक पटकमा दुई वटाभन्दा बढी गाडी चार्ज गर्न मिल्दैन । अनि गाडीको संख्या धेरै हुँदा ५ देखि ७ वटा गाडी कुरेर बसेको भेटिन्छन् ।

गाडी बिक्रेताहरूले चार्जिङ पूर्वाधार लगानी गर्ने बताए पनि हाइवेमा देखिने गरी चार्जिङ स्टेशन निर्माण गरेका छैनन् । अधिकांश स्थानमा प्राधिकरणले बनाएको चार्जिङ पूर्वाधारको भरमा नै हिँड्नु पर्ने अवस्था छ ।

निजी गाडीमा समस्या कम

निजी गाडीहरूमा भने ठूलो समस्या देखिँदैन । बाटोमा रहेका अधिकांश सीसीएस २ चार्जरहरू खाली नै भेटिन्थे । चाडपर्वको समयमा केही समस्या भए पनि नियमति समयमा चार्जको समस्या नदेखिएको चार्जिङ स्टेशन वरपर व्यवसाय गरेर बस्ने व्यवसायीहरू बताउँछन् ।

कमर्शियल गाडीको लागि चार्जर थपौं

कमर्शियल गाडीको लागि वीपी राजमागको भकुन्डेबेँसी, खनियाँ खर्क, कटारी, मिर्चैया, लालबन्दी, चन्द्रपुर, हेटौंडा, कान्ती लोकपथको ठेङन वा वागमती, कुलेखानी जस्ता स्थानमा अनिर्वाय चार्जिङ पूर्वाधर थप गर्नु पर्ने देखिन्छ ।

यी स्थानमा चार्जिङ सेन्टरको संख्या थप्ने र नयाँ स्थापना गर्ने हो भने यी साना यात्रु बहाक भ्यानहरूले चुस्त सेवा प्रदान गर्न सक्नेछन् । अन्यथा यो मानिसको समय बर्बादीमा परिणत नहोला भन्न सकिँदैन ।

बिक्रेता कम्पनी थपिँदै

अहिले सबैभन्दा धेरै गाडी बिक्री गर्ने केवाइसी, किङलङ, एसआरएम, डाँफे जस्ता ब्राण्ड छन् । फोटोन, हाइगर जस्ता धेरै यात्रु बोक्ने गाडी पनि बजारमा उपलब्ध हुन थालेका छन् । नयाँ र धेरै यात्रु बोक्ने ब्राण्ड थपिनु सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सहयोग नै पुग्छ । तर, चार्जरको कारण यात्रुले भोग्ने समस्या थप जटिल बन्दै जाने निश्चित प्रायः छ ।


Back_to_top