काठमाडौं । चिनियाँ अटोमोबाइल्स कम्पनी जिलीले सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बिक्री बढाएको छ । कम्पनीले सन् २०२५ मा ३० लाख २५ हजार युनिट कार बिक्री गर्न सफल भएको हो ।
जिलीले आफ्नो न्यू इनर्जी भेहिकलहरूको बिक्री ९० प्रतिशतले बढाएको छ । एक वर्षमा कम्पनीले १६ लाख ८७ हजार युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको हो । कम्पनीले न्यू इनर्जी भेहिकलको लक्ष्यभन्दा धेरै युनिट बिक्री गर्न सफल भएको हो ।
बीवाइडीले सन् २०२५ मा ४५ लाख युनिट कार बिक्री गर्न सफल भएको थियो । अघिल्लो वर्ष जिली बीवाइडीभन्दा २० लाख युनिट कम बिक्री भएको थियो । अहिले त्यो घटेर १५ लाख युनिटमा झरेको हो ।
जिलीको ग्यालेक्सी ब्राण्डमा १२ लाख ३५ हजार ८०० युनिट कार बिक्री भएको कम्पनीले जनाएको छ । ग्यालेक्सी ब्राण्डको उत्पादन र बिक्री १५० प्रतिशतले वृद्धि भएको हो । बजारमा आएको २९ महिनामा ग्यालेक्सी ब्राण्ड निकै बलियो भइसकेको छ ।
जिलीको बिक्रीमा लिङ्क एण्ड को ब्राण्डको हिस्सा ३ लाख ५० हजार युनिटको छ । जिकर ब्राण्डमा २ लाख २४ हजार १०० युनिट बिक्री गर्न सफल भएको छ ।
निर्यातमा पनि जिली निरन्तर बलियो बन्दै गएको छ । कम्पनीले सन् २०२५ मा ४ लाख २० हजार युनिट निर्यात गरेको हो । चिनियाँ अटोमोबाइल्स जाइन्टले सन् २०२६ को लागि ३४ लाख ५० हजार युनिट कार बिक्री गर्ने लक्ष्य राखेको छ ।
कम्पनीको लक्ष्य पूरा गर्न जिली र ग्यालेक्सी मिलाएर जिलीको लोगोमा २७ लाख ५० हजार, लिंक एण्ड को ब्राण्डमा ४ लाख युनिट र जिकर ब्राण्डमा ३ लाख युनिट उत्पादन गर्ने जनाएको छ । यी सबैमा न्यू इनर्जी भेहिकल २०२६ मा २२ लाख २० हजार युनिट बिक्री गर्ने कम्पनीको रणनीतिमा सामेल छ ।

