नेपालमा जम्दै ओमोडा/जेको, के-के छन् नयाँ योजना ?

काठमाडौं । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स कम्पनीले आधिकारिक रूपमा बिक्री गर्ने ओमोडा/जेको/आइकार ब्राण्ड निकै बलियो बन्दै गएको छ । त्यसमा एसयूभी लाइनअपले निकै ठूलो भूमिका खेलेको हो ।

कम्पनीले ४८ लाखदेखि ६६ लाख रुपैयाँसम्मका गाडी बजारमा उपलब्ध गराउँदै आएको छ । जसमा आइकार भी-२३ देखि जेको जे-सिक्ससम्मका उत्पादन छन् । पृथक डिजाइन, आकर्षक मूल्य र उत्कृष्ट पर्फमेन्स दिने गाडी उपलब्ध गराएको कारण ओमोडा/जेकोका उत्पादन उपभोक्ताले मन पराएका हुन् ।

नेपाली बजारमा सबैभन्दा पहिला आएको ओमोडा ई फाइभले धेरैको मन जित्यो । त्यसपछि आएको जेको जे–सिक्सको लाइफ स्टाइल एड्भेन्चर डिजाइन धेरैले मनपराए । यी दुई मोडलको सफलतापछि कम्पनीले जेको जे फाइभ र आइकार भी–२३ बिक्री थालेको छ । यी दुवै उत्पादन पनि चर्चामा छन् ।

अहिलेसम्म कम्पनीले ओमोडा ई फाइभ ९१८ युनिट नेपाल ल्याएको छ । सन् २०२४ मा ५८४ युनिट ई फाइभ आयात भएको थियो । सन् २०२५ मा भने कम्पनीले ३३४ युनिट ई फाइभ ल्याएको देखिन्छ । दुई वर्षमा कुल मिलाएर ९१८ युनिट आयात भएको हो ।

सन् २०२४ को अन्तिम तिर नेपाल आएको जेको जे सिक्स मोडल अहिलेसम्म ३८७ युनिट आयात भइसकेको छ । कम्पनीले सुरूको केही महिनामा १७५ युनिट आयात गरेको थियो । सन् २०२५ मा २१२ युनिट जे सिक्स आयात गरेको देखिन्छ । जुन सेग्मेन्टमा निकै राम्रो आयात मान्न सकिन्छ ।

सन् २०२५ मा एसपीजी अटोमोबाइल्सले दुई नयाँ मोडल नेपाली बजारमा ल्यायो । कम्पनीले दशैंको अवसर पारेर जे फाइभ र पुस लागेसँगै आइकार भी-२३ बिक्री थालेको हो । अहिलेसम्म १५० युनिट जे फाइभ र ५० युनिट आइकार भी-३ आएको कम्पनीले जनाएको छ । समग्रमा विगत दुई वर्षमा ओमोडा/जेको/आइकार ब्राण्डमा १ हजार ५०५ युनिट एसयूभी नेपाल आएको देखिन्छ ।

नयाँ के-के गर्दैछ ?

ओमोडा/जेको ब्राण्ड नेपाल प्रिमियर लिग क्रिकेटको ‘ड्रिभन वाई’ पार्टनर हो । राष्ट्रिय टीमका कप्तान र उपकप्तान दुवै ब्राण्ड एम्बेस्डरको रूपमा कम्पनीले भित्र्याएको छ ।

क्रिकेट मार्फत धेरै युवा पुस्तासँग जोडिदै गएको ओमोडा/जेको/आइकार ब्राण्डले नयाँ मोडल पनि एकपछि अर्को बजारमा ल्याउने योजना तयार पारेको छ । कम्पनीले छिट्टै ओमोडा ई फाइभको फेसलिफ्ट भर्सन बजारमा ल्याउने छ । सम्भवतः २०२६ को पहिलो त्रैमासमै ई फाइभ फेसलिफ्ट नेपाल आउने छ ।

आइकार भी-२५ अर्को २०२६ मा नेपाल आउने एसयूभी हुनेछ । भी-२३ भन्दा केही ठूलो साइजमा उपलब्ध हुने भी-२५ पनि लाइफ स्टाइल एसयूभीको रूपमै बजारमा आउने छ ।

यसका अलावा कम्पनीले ओमाडा ब्राण्डमा नयाँ मोडल बजारमा उतार्नेछ । सम्भवतः ओमोडा फोरको नामबाट बजारमा आउन सक्ने नयाँ कार कम्पनीको इन्ट्री मोडल हुन सक्नेछ ।

सर्भिस र चार्जिङ पूर्वाधारमा जोड

ओमोडा/जेकोको आधिकारिक बिक्रेता हुनु अगाडि सारडा ग्रुप निसान र डाट्सन ब्राण्डको आधिकारिक बिक्रेताको रूपमा काम गर्दै आएको थियो । निसानको लिफ ईभी नेपाल ल्याएसँगै कम्पनीले ईभीको सर्भिसिङको लागि आवश्यक पूर्वाधार तयार गरेको हो । त्यही अनुभवलाई कम्पनीले ओमोडा/जेको/आइकारमा पनि लागू गर्दै आएको छ ।

कम्पनीले काठमाडौं उपत्यकाको लागि भक्तपुर र सीतापाइलामा सर्भिस सेन्टर चलाइरहेको छ । उपत्यका बाहिर सबै १५ डिलर नेटवर्कमा सर्भिस सुविधा उपलब्ध गराएको छ । कम्पनीले स्पेयर पार्टसको कमी हुन नदिन सबै किसिमको नीति अबलम्बन गरेको जनाएको छ ।

कम्पनीसँग अहिले देशभर ३१ स्थानमा चार्जिङ सेन्टरहरू छन् । सन् २०२६ मा त्यसलाई बढाएर १०० स्थानमा पुर्याउने कम्पनीले यसअघि नै घोषणा गरिसकेको छ ।

अन्त्यमा, लामो प्रोडक्ट लाइनअप, उपभोक्तामैत्री मूल्य, पृथक डिजाइन र उपभोक्तालाई ओमोडा/जेको/आइकार ब्राण्ड प्रति विश्वास दिलाउन सकेकै कारण यो ब्राण्ड नेपालमा बलियोसँग स्थापित हुँदै गएको देखिन्छ । नेपाली बजारमा वार्षिक औषत ७५० युनिट माथिको बिक्रीले यसको विश्वसनियतालाई थप बल पुर्याएको मान्न सकिन्छ ।


Back_to_top