यी ४ कारण दुईपाँग्रे सवारीमा यात्रा गर्दा लगाउनै पर्छ हेलमेट

काठमाडौं । नेपालमा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर) चलाउँदा अनिवार्य हेल्मेट लगाउनुपर्ने कानुनी व्यवस्था छ । विगतमा पछाडि बस्ने यात्रु (पिलियन राइडर)लाई समेत हेलमेट अनिवार्य थियो । यद्यपि, हाल यो नियम कार्यान्वयमा छैन ।

सरकारले प्रस्ताव गरेको नयाँ सवारी तथा यातायात व्यवस्था ऐनमा भने पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य गर्ने व्यवस्था गरिएको छ । उक्त ऐन मन्त्रिपरिषद्मा पठाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ ।

अधिकांश चालकले आफ्नो सुरक्षाभन्दा पनि ट्राफिक कारबाहीबाट बच्नका लागि हेलमेट प्रयोग गर्ने गर्छन् । ट्राफिक नभएको ठाउँमा अझै पनि बिना हेलमेट मोटरसाइक्ल/स्कुटर चलाएर हिँडेको देखिन्छ । यसो गर्नु चालकको चरम लापारबाही र आफैंले दुर्घटनालाई निम्तो दिनु हो ।

दुईपाँग्रे सवारीको यात्रा जति सहज, छरितो र रोमान्चक हुन्छ, त्यति नै जोखिम पनि उच्च छ । नेपालमा हुने सवारी दुर्घटनामध्ये आधा बढी दुईपाँग्रे नै रहेको ट्राफिकको तथ्यांक छ । यहाँ हामीले हेलमेटका महत्वको बारेमा चर्चा गरेका छौं ।

१. ज्यान जोगाउने सबैभन्दा प्रभावकारी उपाय

सडकमा सवारी साधन चलाउँदा सबैभन्दा महत्वपूर्ण सुरक्षात्मक साधन मध्ये एक हो हेलमेट । तुलनात्मक रूपमा दुईपाँग्रे सवारी धेरै दुर्घटनामा पर्छन् । दुर्घटनामा सबैभन्दा बढी टाउकोमा चोट लाग्ने जोखिम हुन्छ । यस्तोमा हेलमेटले टाउको सिधै जमिनमा ठोकिनबाट जोगाउँछ । चोटको गम्भीरता घटाउँछ र दीर्घकालीन समस्या हुनबाट रोक्छ ।

मोटरसाइकल र स्कुटर चालकका लागि हेलमेट केवल कानुनी बाध्यता मात्र नभई जीवन र मृत्यु बीचको सुरक्षा कवच पनि हो । सडक दुर्घटनामा हुने अधिकांश मृत्युको मुख्य कारण टाउकोमा गम्भीर चोट लाग्नु हो। गुणस्तरीय हेलमेटले टाउकोमा पर्ने प्रभावलाई कम गरी सुरक्षित राख्न मद्दत गर्छ।

२. सवारी चलाउँदा ध्यान केन्द्रित राख्छ

हेलमेटले आँखा र अनुहारलाई धुलो, हावा, किरा र तेज घामबाट जोगाउँछ । जसले सवारी चलाउँदा ध्यान केन्द्रित राख्न सहयोग पुर्याउँछ। हेलमेटले चालकलाई राम्रोसँग देख्न र ध्यान नहटाई साधन चलाउन पनि सहज बनाउँछ। साथै, वर्षा, घाम वा चिसो मौसममा पनि हेलमेटले सहजता प्रदान गर्छ।

३. कानुनी सुरक्षा र जिम्मेवारपन

नेपालमा ट्राफिक नियमअनुसार हेलमेट नलगाई दुईपाँग्रे साधन चलाउनु गैरकानुनी मानिन्छ । यसमा चालकलाई जरिवाना समेत लाग्ने व्यवस्था कानुनमा उल्लेख छ। हेलमेट लगाउँदा जरिवानाबाट जोगिनुका साथै आफूलाई जिम्मेवार चालकको रूपमा प्रस्तुत गर्न सकिन्छ। आफ्नो र पछाडि बस्ने यात्रुको जीवन सुरक्षा गर्नु सबैभन्दा ठूलो जिम्मेवारी हो।

४. आफ्नो र परिवारको भविष्य सुरक्षित

हेलमेट नलगाउँदा सानो दुर्घटनाले पनि ठूलो क्षति पुर्याउन सक्छ। हेलमेट लगाउनु भनेको केवल आफ्नो मात्रै नभई परिवारको खुसी र भविष्यको समेत सुरक्षा गर्नु हो। आफ्नो गल्तीले गर्दा परिवारले दुःख भोग्नु पर्ने अवस्था निम्त्याउन नदिन हेलमेट अपरिहार्य छ ।

निष्कर्ष

हेलमेटलाई विकल्पका रूपमा होइन सुरक्षाका कवचको रूपमा प्रयोग गरौं । यो अनिवार्य पहिलो शर्त समेत हो । चाहे जति सुकै छोटो दूरी होस् हेलमेट लगाएर मात्र मोटरसाइकल÷स्कुटर चलाऔं । आफ्नो ज्यानको सुरक्षासँगै जिम्मेवार चालकको भूमिका निर्वाहा गरौं ।


Back_to_top