जिलीको नयाँ ‘थन्डर’ मोटरः १६ प्रविधि एउटै युनिटमा

काठमाडौं । जिली ग्यालेक्सीले आफ्नो सहायक कम्पनी इन्फिमोशनले विकास गरेको ‘थन्डर’ १६-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रीक ड्राइभ सिस्टम सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ मोटरले क्षमताको ९३.८ प्रतिशत कार्यक्षमता भेट्टाउँदै ‘इलेक्ट्रीक ड्राइभ सिस्टम’मा अटो उद्योगमै नयाँ कीर्तिमान राख्न सफल भएको हो ।

नयाँ ड्राइभ सिस्टममा मोटर, मोटर कन्ट्रोलर, रिड्युसर, डीसी कनभर्टर, अनबोर्ड चार्जर, पावर डिस्ट्रीब्युसन युनिट, ब्याट्री म्यानेजमेन्ट सिस्टम, भेहिकल कन्ट्रोल युनिट, थर्मल म्यानेजमेन्ट सिस्टमलगायत १२ वटा हार्डवेयर छन् । साथै, ऊर्जा व्यवस्थापन, चार्जिङ व्यवस्थापन, मोसन कन्ट्रोल तथा हेल्थ म्यानेजमेन्ट गरी चार सफ्टवेयर प्रणालीलाई एउटै युनिटमा समेटिएको छ । त्यसैले यसलाई १६-इन-१ मोटर भनिएको हो ।

नयाँ मोटरमा १८० भन्दा बढी अतिरिक्त कम्पोनेन्ट हटाइएको छ । म्याग्नेसियमको प्रयोग बडी भएकाले नयाँ मोटरको तौल ७५ केजी मात्रै छ । जुन अहिले प्रचलित उत्पादनभन्दा १५ प्रतिशत हलुका हो । साथै, उच्च भोल्टेज वायरिङ ३० प्रतिशत र न्यून भोल्टेज वायरिङ १५ प्रतिशतले घटाइएको छ। ३२५ एमएमभन्दा कम उचाइ भएकोले गाडीमा बुट स्पेस पनि बढ्ने कम्पनीको दावी छ ।

८०० भोल्ट प्लेटफर्ममा आधारित यसमा ‘वान-चिप’ प्रविधि प्रयोग गरिएको छ । जसले कन्ट्रोल प्रतिक्रिया समय ४० मिलिसेकेन्डबाट २ मिलिसेकेन्डसम्म झार्ने क्षमता राख्छ । चीनको छिङहाइ ताल वरिपरि गरिएको परीक्षणमा नयाँ मोटरले ८.२ किलोवाट आवर ब्याट्री खर्च गरेर १०० किलोमिटर गाडी गुडेको थियो ।

एआईमा आधारित एल्गोरिदमले चिसो मौसम र उच्च गतिमा पनि दक्षता बढाउने कम्पनीको भनाइ छ। माइनस १८ डिग्री सेल्सियस तापक्रममा करिब ७ किलोवाट आवर बराबरको तापीय ऊर्जा सञ्चित गर्न सक्ने भएकाले केबिन तताउन लाग्ने ऊर्जा ४० प्रतिशतभन्दा बढी बचत हुने कम्पनीको दावी छ ।

जिलीले नयाँ मोटर आफ्नो ग्यालेक्सी टीटी प्योर ईभी स्पोर्ट्स सेडानमा प्रयोग गरेको छ । ४,९९९ एमएमलामो सेडानमा २४५ किलोवाट क्षमताको मोटर र अल ह्वील ड्राइभ मोडलमा ४२५ किलोवाटको मोटर दिएको छ ।


Back_to_top