सवारी साधनमा जिपीएस सिस्टम राख्ने प्रक्रिया अघि बढायो (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम (जिपीएस)  लागू गर्न परामर्शदाता छनोट पक्रिया अगाडि बढाएको छ । विभागले बुधवार एक सूचना जारी गर्दै ट्र्याकिङ सिस्टमको बारेमा आवस्यक सल्लाह सुझाव दिने कार्यका लागि इच्छुक कम्पनीहरूबाट आवेदन माग गरेको हो ।

सरकारले चालू आर्थिक वर्षको साउनदेखि ढुवानीका यातायात साधानमा जीपीएस ट्रयाकिङ सिस्टम लागू गरेको थियो । सो सिस्टम प्रभावकारी हुँदै गएपछि विभागले सबै किसिमका सार्वजनिक यातायातमा पनि लागू गर्ने तयारी स्वरुप परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको हो ।

सार्वजनिक यातायातमा तोकिएको मार्गहरूको लागि प्रणाली डिजाइनको समीक्षा गर्ने, सवारी साधनको गति तथा सडकखण्डको अवस्थाको अनुगमन गर्ने लगायतका सुझाव दिने काम गर्न विभागले परामर्शदाता छनोट गर्न लागेको हो ।

इच्छुक कम्पनीले फागुन १४ (फेब्रुअरी २६) भित्र आवश्यक कागजातसहित विभागमा आवेदन दिनु पर्नेछ । परामर्शदाता छनोटका लागि विभागले अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट वित्तीय सहयोगसमेत प्राप्त गरिसकेको छ ।

परामर्शदाता छनोट भइसकेपछि उसले दिएको सुझाव अनुसार सार्वजनिक यातायातमा पनि पीपीएस सिस्टम राख्न आवश्यक प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।


Back_to_top