काठमाडौं । बजारमा सब फोर मिटर सेग्मेन्टको विक्री बढेको भएपनि ह्याचव्याक खोज्ने ग्राहकको कमी छैन भन्दा फरक पर्दैन । ह्याचव्याक सेग्मेन्टमा हुन्डाई, टाटा, मारुती सुजुकी, फक्सवागन जस्ता ब्राण्डले गाडी विक्री गर्दै आएको भएपनि सेग्मेन्ट लिडरको रुपमा हुन्डाईको ‘ग्राण्ड आई १० नियोस’ देखिएको छ ।
सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्मको आयात तथ्यांक हेर्दा ग्राण्ड आई १० नियोस निकै अगाडि देखिएको छ । हुन्डाई ग्राण्ड आई १० नियोस करिब १ हजार ५० यूनिट आयात हुँदा मारुती सुजुकी स्वीफ्ट ६३० यूनिट, टाटा टियागो ३३० यूनिट र फक्सवागन पोलो २१५ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
भन्सार तथ्यांक अनुसार मारुती सुजुकी स्वीफ्टले आई १० नियोसलाई पच्छाई रहेको छ । भदौदेखि नै दशैं केन्द्रित विक्री सुरु भएको अटोमोवाइल बजारमा अहिले पनि चाडपर्व केन्द्रित विक्री चलिरहेको छ । सबै कम्पनीले दशैं स्कीम दिइरहेका छन् । तर, पछिल्लो दिनमा एक्कासी बैंक व्याजदर बढ्न थालेकोले बजार कसरी अगाडि बढ्छ भन्ने अन्योलता सृजना भएको छ ।

बजारमा ३० लाखभन्दा कम मूल्यदेखि नै सब फोर मिटर एसयूभीहरु उपलब्ध रहेको भएपनि हुन्डाई ग्रान्ड आई १० र मारुती सुजुकी स्वीफ्टले राम्रो बजार पाउनुको पछाडि रहेका मुख्य कारण इन्जिन र बडी साइज रहेको जानकारहरु बताउँछन् ।
‘ठूलो बडी साइज हुँदैमा गाडी बलियो हुने होइन । गाडी बलियो हुन राम्रो इन्जिन र इन्जिन अनुसारको बडी साइज हुनु पर्छ’, थापाथलीमा भेटिएका सरोज श्रेष्ठले भने । उनि मारुती स्वीफ्ट खोज्न पुगेको तर, कम्पनीले अर्को महिना मात्रै डिलिभरी दिन सक्ने बताएपछि निरास देखिन्थे ।

श्रेष्ठका अनुसार यसअघि उनले सेलेरियो चढेका थिए । अब पनि पाए स्वीफ्ट नत्र ग्राण्ड आई १० नियोस किन्ने निचोडमा उनि पुगेको सुनाउँदै भने, ‘मूल्यका हिसावले काइगर, म्याग्नाइट तथा सोनेट र भेन्यूको इन्ट्री भेरियन्ट मेरो बजेटमा किन्न सकिन्छ । तर, सानो इन्जिनमा ठूलो बडी भएको गाडी किनेर के गर्नु’, उनको प्रश्न थियो ।
‘अहिलेका सब फोर मिटर एसयूभी पुरानो हुँदै गएपछि आवश्यकता भन्दा बडी आवज आउने र इन्धन पनि बढी खपत गर्ने कारण धेरै मानिसले ह्याचव्याक किनिरहेको बताउँछन्’, नक्साल शोरुमा भेट्टिएका सुधिर भट्टराई । पेशाले औषधीको व्यापार गर्ने उनि सहरी क्षेत्रमा यात्रा गर्न ह्याचव्याक नै ठिक हुने बताउँछन् ।

चलाउन सहज, सानो ठाउँमा पार्किङ गर्न मिल्ने, राम्रो माइलेज र पावरफुल १.२ लिटर क्षमताको पेट्रोल इन्जिन भएकै कारण ह्याचव्याक कार धेरै मानिसको रोजाइमा अहिले पनि परिरहेको अनुमान गर्न सकिन्छ । पहिलो पटक गाडी किन्ने जो कहीले ठूलो गाडी चढ्न आँट नगर्ने हुनले पनि ह्याचव्याक कारको विक्री राम्रै संख्यामा भइरहेको छ ।


