मासिक २१ हजार किस्ता तिर्दा पुग्ने कार, पेट्रोल खर्चमै मासिक १२ हजार बचत

काठमाडौं । सामान्यतया गाडी किन्ने मानिसले ५० प्रतिशत रकम सुरूमै डाउन पेमेन्ट बापत बुझाउनु पर्ने र बाँकी ५० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनु पर्ने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । तर, विद्युतीय गाडीको हकमा भने २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्ने भएको कारण थोरै डाउन पेमेन्टमा किन्न पाइन्छ ।

साना ह्याचव्याक इलेक्ट्रीक कार किन्नेले बजारमा धेरै छनोट पाउन थालेका छन् । विशेषगरी सहरी क्षेत्रको लागि उपयुक्त यस्ता मिनी कार २० लाखदेखि ३० लाख मूल्य कायम गरेर विक्री भइरहेका छन् । यिनै मिनी कार मध्येको हेनरी एउटा उत्कृष्ट मोडल हो ।

पायोनियर वर्ल्ड प्रालिले नेपाल ल्याएको हेनरी अहिले तत्कालै किन्न पाइने कार हो । सप्लाईको समस्या हुँदा विद्युतीय कारको उपलब्धता कम भइरहेको समयमा कम्पनीले राम्रै संख्यामा गाडी उपलब्ध गराएको छ ।

‘अहिले हामीसँग माग अनुसार  कार उपलब्ध छन् । तत्कालै २४ यूनिट कार हामीसँग स्टकमा छ भने, केही यूनिट आउने क्रममा छ । त्यसैले ग्राहकले आफ्नो छनोट अनुसारको कलरमा तत्कालै हेनरी किन्न पाउने छन्’, पायोनियर वर्ल्डका प्रबन्ध निर्देशक श्याम सापकोटाले मेरोअटोसँग भने ।

कम्पनीले विक्री सुरु गरेको केही महिनामा नै १८ यूनिट हेनरी टाइगर मोडल विक्री गरिसकेको उनले जानकारी दिए । ग्राहकलाई कर्जा लिन सहज होस् भनेर हिमालय बैंकसँग सम्झौंता भएको र नविल बैंकसँग सम्झौंता हुने क्रममा रहेको सपकोटाले बताए ।

अहिले कम्पनीले २३ लाख ५० हजार मूल्य तोकेर विक्री गर्दै आएको हेनरी किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने हो भने मासिक २१ हजार ६०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । ईभीमा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको कारण डाउन पेमेन्ट गर्ने पैसा नपुग्दा यो सुविधा पनि लिन सकिन्छ ।

यदि ५० प्रतिशत डाउन पेमेन्ट गरेर हेनरी किन्ने हो भने ७ वर्षमा ग्राहकले ब्याजवापत तिर्ने ३ लाख ८३ हजार रुपैयाँ बचत गर्न सक्ने छन् । अहिले हिमालयन बैंकले १३.३५ प्रतिशत ब्याजदरमा हेनरीको लागि कर्जा उपलब्ध गराउँदै आएको छ ।

गाडीको मूल्यको २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर हेनरी किन्दा ७ वर्षसम्म मासिक ३४ हजार ५६० रुपैयाँ किस्ता तिर्नु पर्छ । थोरै डाउन पेमेन्टमा किन्दा ७ वर्षमा १८ लाख ८० हजार कर्जा प्रयोग वापत १० लाख २३ हजार रुपैयाँ ब्याज वापत तिर्नु पर्छ ।

सामान्य एक हजार सीसीको कारले काठमाडौंमा दैनिक ५० किलोमिटर चलाउँदा १२ हजारको पेट्रोल खपत गर्छ । यदि तपाईले ५० प्रतिशत डाउन पेमेन्ट गरेर हेनरी किनेको खण्डमा कम्तीमा पेट्रोल खर्चमा १० हजार थपेर मात्रै पनि मासिक २१ हजार ६०० रुपैयाँ किस्ता तिर्न पुग्ने छ ।

सहरी क्षेत्रको लागि उपयुक्त हेनरी कारको लम्बाई ३३८० एमएम, चौडाई १४९९ एमएम र उचाई १६१० एमएम रहेको छ । उचाई र पछाडिको डिजाइनको आधारमा यसलाई ‘टलह्याच’ पनि भन्न सकिन्छ । कम्पनीले यसमा साइज अनुसार निकै लामो २४४० एमएमको ह्वीलवेस दिएको छ । ग्राहकले यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।

कम्पनीका अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो ईभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध छ ।

अत्याधुनिक टेक्नलोजीमा आधारीत विद्युतीय गाडी भएको कारण यसमा धेरै फिचर उपलब्ध रहेका छन् । यसमा म्यानुयल ह्याण्ड ब्रेकको प्रयोग भएको छ भने इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयु लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ ।

यसको फ्रन्ट फेसिया फ्यूचरीस्टीक ईभी डिजाइनबाट प्रेरित रहेर तयार गरिएको छ । साथै, लुकिङ ग्लासमै दिइएको टर्न इन्डिकेटर लाइट, बडी कलर डोर ह्याण्डल, चालक सहित ४ जनाको लागि आरामदायी सिट, म्यानुयल एसी, थ्री प्वइन्ट सिट बेल्ट, एबीएस, इबीडी र हिल होल्ड एसिस्ट जस्ता फिचर छन् ।

कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटर बारेन्टी प्रदान गरेको छ ।


Back_to_top