झण्डै ५ दर्जन शोरुम बन्द, टाट पल्टिदै डिलरहरू

काठमाडौं । लामो आयात प्रतिबन्ध, लगानी योग्य रकमको अभाव र नेपाल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाइको कारण करोडौं रुपैयाँ लगानी गरेर खुलेका करिब ५ दर्जन डिलरहरू बन्द भएका छन् ।

लगातारको आयात प्रतिबन्धलाई मात्रै दोष देखाइए पनि विश्व अर्थतन्त्रमा देखापरेको आर्थिक मन्दीको चपेटामा हाम्रो अटोमोबाइल व्यवसाय परेको सहजै अनुमान लगाउन सकिन्छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको डिलर कमिटीको सह-सभापति सन्तोष खतिवडा देशभर करिब ५ दर्जन शोरुम बन्द भएको बताउँछन् । उनी भन्छन्, ‘अहिले देशभर व्यवसाय गर्दै आएका व्यवसायी समस्यामा परेका छन् । विशेषतः गाडी उपलब्ध नहुँदा धेरैले शोरुम बन्द गर्नु परेको हो । तर, केही डिलर बैंकको कर्जा व्यवस्थापन गर्न नसक्दा पनि बन्द भएका छन् । डिलर बन्द हुनुमा आधिकारिक विक्रेताको असहयोग पनि एउटा कारण हो ।’

सह-सभापति खतिवडाका अनुसार अहिले पनि देशका विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएका डिलर साथीहरू आर्थिक समस्यामा परेको भन्दै आधिकारिक वितरक, नेपाल राष्ट्र बैंक तथा आफ्नो कारोबार भइरहेको बैंकसँग सहयोग मागिरहेका छन् । तर, उनीहरूले कतैबाट सहयोग पाएका छैनन् ।

अहिले अधिकांश डिलरको दैनिक काम नै बैंकको कर्जा व्यवस्थापन, शोरुमको भाडा तथा कर्मचारीको खर्च कसरी धान्ने भन्ने विषयमा छलफल गर्दै बितिरहेको बताउँदै खतिवडा भन्छन्, ‘अहिले पनि नाडामा साथीहरू कसरी अगाडि बढ्ने भनेर छलफलमा जुटिरहेका छन् ।’

नेपाल राष्ट्र बैंकले चैत २१ गतेबाट गाडी आयातमा एलसी खोल्न दिएको छैन । यसरी एलसी खोल्न बन्द भएसँगै नयाँ गाडी बजार आउन सकेको छैन । त्यसले करिब ३० प्रतिशत मानिसले अटोमोबाइल क्षेत्रमा रोजगारी गुमाउने अवस्था आएको छ । त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्न सुरू भएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

‘व्यवसायी पनि निकै ठूलो समस्यामा परेका छन् भने डिलरहरू खर्च धान्न नसकेर बन्द हुन थालेका छन् । अहिलेको अवस्था आउँछ भनेर नै हामीले सबै सरोकारवालाई आयात खोल्न भनेका थियौं । उहाँहरूले सुन्नु भएन अहिले धेरैले व्यवसाय, रोजगारी र राज्यले ठूलो परिमाणमा राजश्व गुमायो’, थापाले मेरोअटोसँग भने ।

देशका विभिन्न भेगमा खुलेका गाडीका शोरुम पाएसम्म अन्य ब्राण्डलाई भाडामा लगाउने काम पनि सुरू भएको छ । विगत लामो समयदेखि आफ्नो ब्राण्डले गाडी उपलब्ध नगराएपछि केही इलेक्ट्रीक गाडी विक्री गर्ने ब्राण्डहरूले शोरुम भाडामा लिन थालेको व्यवसायीहरू बताउँछन् । जसरी पनि खर्च कम गर्ने मनस्थितिमा डिलरहरू पुगेको र भोलिको दिनमा पनि व्यवसाय राम्रो हुन्छ भन्ने कुरामा उनीहरू आस्वस्थ हुन सकेका छैनन् ।

कहिले खुल्छ आयात ?

सरकारले आगामी मंसिर २८ गतेसम्मको लागि आयात प्रतिबन्धलाई निरन्तरता दिएको कारण तत्कालै खुल्ने देखिदैन । यद्यपि, आम निर्वाचन सम्पन्न भएको र अब आर्थिक विकासको बाटोमा अगाडि जानु पर्ने बाध्यता रहेको कारण आयात खुल्ने सम्भावना रहेको व्यवसायीहरूको आकलन छ ।

लामो आयात प्रतिबन्धले अर्थतन्त्रमा निकै गहिरो असर पुर्याएको कारण आयात खोल्नु पर्ने धेरै अर्थशास्त्रीहरूको बुझाइ छ । तर, तत्काल आयात खुल्ला भए पनि बजारमा माग नभएको कारण समस्या निम्तने सक्ने मत पनि अर्का थरिले राख्दै आएका छन् ।

अर्थशास्त्री डा. विश्वास गौचन भन्छन्, ‘कर्जा सस्तो भएपछि उपभोग बढ्ने हाम्रो बजारमा विगत २० वर्षको ट्रेन्ड हेर्ने हो भने वार्षिक १६ प्रतिशतले आयात बढेको छ । अहिले कर्जा मंहगो भएको कारण उपभोग घटेको हो । त्यसैले माग नबढेसम्म आयात खोल्दा पनि त्यसले सकारात्मक प्रभाव पार्दैन ।’

अर्थशास्त्री गौचनका अनुसार अन्तर्राष्ट्रिय संघ संस्थाको दबाबको कारण आयात खुल्ने मुडमा सरकार पुग्न सक्ने भए पनि त्यसले बजारमा माग बढाउने अवस्था भने छैन । तर, मदिरा लगायतका वस्तु चोरीको बाटोबाट आउन थालेको कारण त्यसलाई रोक्न पनि आयात खुल्ला गर्नु पर्ने देखिएको छ ।

सरकारले मदिरा र गाडीमा लगाएको प्रतिबन्ध आगामी मंसिर २८ पछि खुल्ला गर्ने विषयमा अर्थमन्त्रालयदेखि अन्य सरोकारवाला निकाय एकमत देखिएका छन् ।

 


Back_to_top