काठमाडौं । नेपालमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने ब्राण्ड बजाजका उत्पादन पल्सर सिरिज हुन् । धेरै नेपालीले बजाजका मोटरसाइकललाई पल्सर भनेर सजिलै चिन्ने गरेको पाइन्छ ।
नेपालको पहिलो औद्योगिक घराना मध्येको एक गोल्छा समूहले सन् २००१ देखि नेपालमा बजाजका उत्पादन विक्री गर्दै आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा विक्री गर्ने बजाजका मोटरसाइकल सहरी, तराई, पहाडी र हिमाली सबै क्षेत्रमा गुडेको पाउन सकिन्छ ।
पहाडी भेगमा बाटो पुगेपछि पल्सर नपुगेको ठाँउनै छैन होला । यस्तोमा विगत २० वर्षमा बजाजका उत्पादन नेपालमा किन सफल भए भन्ने सबैमा जिज्ञासा रहेको पाइन्छ । यस्तोमा हामीले बजाजको सफलताका केहि मुख्य कारणलाई यहाँ उल्लेख गरेका छौं ।
१. ब्राण्ड पोजिसिनिङः बजाजले आफ्नो ब्राण्डलाई हरेक नेपालीको मन मस्तिस्कमा पुर्याउन सफल भएको छ । त्यसमा पनि पल्सरको त कुरै नगरौं । पल्सर मोटरसाइकल नचिन्ने सायदै कुनै सवारी साधन बारेमा चासो राख्ने मानिस होलान् । यतिसम्म कि बजाजका सबै मोटरसाइकललाई बुढादेखि बच्चासमेतले पल्सर मोटरसाइकल भनेर चिन्ने अवस्था सृजना गर्न कम्पनी सफल भएको छ ।

खेलकुद, राइडिङ लगायतका युवाको चासो रहने क्षेत्रमा लगानी गर्दै आएको बजाज पल्सर स्पोर्टस् अवार्ड र पल्सर डियरभेन्चर निकै चर्चित रहेको छ । यसबाट युवालाई आफुतर्फ आकर्षित गर्न कम्पनी सफल भएको छ ।
२. कम मूल्यः बजाज अहिले पनि अन्य कम्पनीको तुलनामा केहि कम मूल्यमा मोटरसाइकल विक्री गर्ने कम्पनीमा पर्छ । कम्पनीले बजारमा ल्याएका मोटरसाइकललाई अन्य कम्पनीको प्रतिस्पर्धी मोडलसँग तुलना गर्दा यसको मूल्य अहिले पनि कम नै लाग्छ ।
३. स्टाइलिस डिजाइन र पावरः बजाजका मोटरसाइकल स्टाइल र पावरको लागि पनि परिचित रहेका छन् । पावरकै कारण पल्सर २२० नेपालका हरेक पहाडी क्षेत्रमा गुडिरहेको भेटिन्छ । अर्को बजाजका मोटरसाइकल निकै आकर्षक डिजाइनमा तयार भएका छन् । जसले मोटरसाइकल प्रेमी युवाहरुलाई आकर्षित गर्दै आएको छ ।

४. बलियो विक्री केन्द्र र सर्भिस नेटवर्कः बजाज नेपालमा सबैभन्दा ठूलो विक्री तथा सर्भिस नेटवर्क भएको कम्पनी हो । बजाजले देशको सहरी क्षेत्रमा मात्रै नभई ग्रामिण भेगमा पनि नेटवर्क विस्तार गरेको छ । नेपालको करिब ८० स्थानमा बजाजले आधिकारीक विक्री र सर्भिस केन्द्र स्थापना गरेको छ ।
बजाजका मोटरसाइकलको संख्या बजारमा अत्याधिक रहेका कारण स्वतन्त्ररुपमा संचालनमा रहेका वर्कसपहरुमा समेत बजाजको पार्टस् र सर्भिस ग्राहकले आवस्यकता अनुसार गर्न सक्ने भएकाले यसको लोकप्रियता थप चुलिएको हो ।
५. नेपालमा नै एसेम्बलः बजाजका मोटरसाइकल विगत ४ वर्षदेखि नेपालमा नै एसेम्बल भइरहेका छन् । सुरुमा नेपालमा एसेम्बल कस्तो र कसरी हुन्छ भन्ने विषयमा ग्राहकलाई थाहा नभएपनि आज नेपालमा नै एसेम्बल भएको पहिलो मोटरसाइकल भन्ने विषयले बजाजलाई नेपालमा थप बलियो बनाएको छ ।
६. मार्केट सेयरः बजाज सर्वाधिक धेरै बजार हिस्सा भएको मोटरसाइकल कम्पनी भएसँगै यसको सडकमा उपस्थिति बढी हुने गर्छ । यसले नयाँ खरिदकर्तालाई मोटरसाइकल छनोट गर्ने समयमा मनोवैज्ञानीक प्रभाव पारिरहेको हुन्छ ।
७. रिसेल मूल्यः बजाजका मोटसाइकल नेपालमा राम्रै रिसेल मूल्य आउने मोटरसाइकलमा पर्छन् । त्यसैले केहि वर्ष चढेर बेच्दा पनि राम्रो मूल्य आउने भएकाले बजाज धेरैको रोजाइमा पर्ने गरेको छ ।

यी ३ काम भए अझैं विक्री बढ्ने
१. स्कुटर सेग्मेन्टमा नहुनुः दुई पाङ्ग्रे सवारी साधनको ठूलो हिस्सा स्कुटरले ओगटी सकेको छ । धेरै हिस्सा रहेको क्षेत्रमा बजाजको उपस्थिति नहुनुलाई कमजोरी मान्न सकिन्छ । अहिले नेपालमा कुल दुई पाङ्ग्रे सवारी साधनमा ३० प्रतिशतभन्दा बढी हिस्सा स्कुटरको रहेको छ ।
२. पछिल्ला दिनमा व्यापक मूल्यवृद्धिः पछिल्ला दिनमा बजाजका मोटरसाइकलमा निरन्तर मूल्य वृद्धि भइरहेको छ । यसले ग्राहकलाई केहि अन्योल पनि बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढ्दै गएकाले मूल्य बढाउनु पर्ने अवस्था आएको कम्पनीको भनाई छ ।
३. पल्सर सिरिजभन्दा बाहिर कमजोरः बजाजले नेपालमा विक्री गर्ने पल्सर सिरिजभन्दा बाहिर प्लाटिना, डिस्कभर, डोमिनार, एभेन्जर जस्ता मोडलमा उल्लेखनिय उपलब्धी हासिल गर्न सकेको छैन । यी मोडलहरुको विक्री खासै उत्साहजनक छैन । तर, केहि दिनअघि कम्पनीले ल्याएको बजाज डोमिनार २५० ले केहि सफलता पाउला कि ?

