क्रसओभर डिजाइनमा देखियो हुन्डाई आयोनिक ५, अहिलेसम्मकै सबैभन्दा छिटो चार्ज हुने

काठमाडौं । हुन्डाईको बहुचर्चित इलेक्ट्रीक ब्राण्ड आयोनिक नामबाट पहिलो क्रसओभर यूटिलिटी भेहिकल (सियूभी) डिजाइनमा ‘आयोनिक- ५’ सार्वजनिक भएको छ ।

झट्ट हेर्दा ह्याचव्याक कार जस्तो देखिने आयोनिक-५ को लम्बाई ४६४० मिलिमिटर रहेको छ । हुन्डाईले आयोनिक ५ लाई फक्सवागन आई-४ र टेस्ला मोडल थ्रीभन्दा लामो बनाएको छ । साथै, यसमा ३००० एमएम लामो ह्वीलवेस दिइएको छ, जुन टेस्ला मोडल थ्रीको भन्दा लामो हो । यसलाई निकै उत्कृष्ट सियूभीको रुपमा अटो विज्ञहरुले ब्याख्या गरेका छन् ।

यसमा ह्वीलको साइजपनि निकै ठूलो दिइएको छ । २० इन्चको ह्वील, १६६१ एमएम उचाई र १८९० एमएम चौडाई रहेको आयोनिक-५ सेग्मेन्टमा नै उत्कृष्ट सियूभी रहेको कम्पनीको दाबी छ । कम्पनीले यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा बजारमा उतार्ने छ ।

हुन्डाईको इ–जिएमपी प्ल्याटफर्ममा बन्ने यो सियूभी दुई व्याट्री अप्सनमा आउने छ । जसमा सानो साइजको ५८ किलोवाट आवर र ठूलोमा ७२.६ किलोवाट आवरको व्याट्री दिइएको छ । कम्पनीले अहिले सानो साइजको रेञ्ज सार्वजनिक गरेको छैन । तर, ठूलो साइजको व्याट्रीले एक पटकको फुल चार्जमा ४७० देखि ४८० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ ।

कम्पनीले यसमा ४ वटा मोटर अप्सन दिने छ । जसमा १२५ किलोवाट, ५३ किलोवाट (अलह्वीलमा प्रयोग हुने), १२० किलोवाट र १७३ किलोवाटको मोटर प्रयोग हुने छ । यसको सबेभन्दा पावरफुल मोटरले ३०२ हर्स पावर प्रदान गर्नेछ । यसको अधिकतम टर्क भने ४४३ एनएम रहने छ ।

सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन यसलाई ५.२ सेकेन्ड लाग्ने छ भने यसको टप स्पीड क्षमता १८५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसलाई ३५० किलोवाट क्षमताको फास्ट चार्जरले चार्जगर्दा ५ देखि ८० प्रतिशत चार्ज हुन केवल १८ मिनेट मात्रै लाग्ने छ ।

आयोनिक-५ मा १२ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १२ इन्च कै इन्फोटेन्टमेन्ट सिस्टम, हेडअप डिस्प्ले रहने छ । यसमा कम्पनीले हाइवे ड्राइभिङ एसिस्ट २ सिस्टम प्रदान गर्ने छ । जुन टेस्लाको अटोपाइलट, जिएमको सुपर क्रुज जस्तै रहने छ ।

 


Back_to_top