अवरुद्ध ८ राजमार्ग एकतर्फी खुले, ७ मुख्य सडक पूर्ण रूपमा बन्द

काठमाडौं । बाढी पहिरोका कारण देशभरका ७ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।

नेपाल प्रहरीका अनुसार आइतबार मध्याह्न १२ बजेसम्म ७ मुख्य सडक राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ८ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा पहिरोले सडक र पुल बगाउँदा पासाङ ल्हामु राजमार्ग, राल्पाको परिवर्तन गाउँपालिका सागरोखोलमा पहिरो आउँदा सहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट-डोल्पा भेरी करिडोर, हुम्लाको सार्केगार्डमा पहिरो आउँदा कर्णाली करिडोर र जाजरकोटको नलगाड नगरपालिकामा अविरल वर्ष हुँदा हुँदा डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, पासाङल्हामु राजमार्ग, कालिगण्डकी करिडोरको बागलुङ र नवलपरासी पूर्व खण्ड, बेनी-जोमसोम सडक र सहिद राजमार्ग भने एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।


Back_to_top