गाडी किन्न ऋण दिन ठूला बैंक बीच प्रतिस्पर्धा, एउटैले दियो साढे १५ अर्बसम्म

काठमाडौं । सवारी साधन खरिदका लागि ऋण दिन ठूला वाणिज्य बैंकहरू बीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो समय कर्जाको ब्याजदर सस्तिँदा गाडी किन्न ऋण लिनेको क्रम बढ्दो छ । यस्तोमा बैंकहरूले धमाधम ऋण दिइरहेका हुन् ।

विगत २ वर्षदेखि आर्थिक शिथिलता कायमै रहँदा कृषि, उत्पादनमूलक, औद्योगिक क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । शिथिलताका बाबजूद अटो, सेयर लगायत क्षेत्रमा भने कर्जाको माग छ । यस्तोमा बैंकहरूले यी क्षेत्रमा धमाधम कर्जा विस्तार गरिरहेका छन् । साथै, बैंकहरूले ग्राहक तान्न सस्तो ब्याजदरको आकर्षक सवारी कर्जा समेत ल्याइरहेका छन् ।

बैंकहरूले सवारी कर्जा ७ वर्षसम्मका लागि प्रवाह गर्छन् । व्यवसाय खुम्चिएको बेलामा दीर्घकालीन ऋण प्रवाह गर्दा समग्रमा फाइदा पुग्ने भएकाले अहिले सस्तो ब्याजदरमै भए पनि कर्जा लगानी गरेका हुन् ।

हायर पर्चेज कर्जा लगानीमा मुख्य गरी ठूला बैंकहरू बीच तीव्र प्रतिस्पर्धा देखिन्छ । ग्लोबल आइएमई, नबिल, राष्ट्रिय वाणिज्य, हिमालयन, एनएमबी, एभरेष्ट, प्राइम लगायत बैंक अगाडि रहेका छन् । तुलनात्मक रुपमा विदेशी स्वामित्वका बैंकहरूले सवारी साधनमा कम कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सवारी खरिदका लागि लिइने हायर पर्चेज कर्जाको वृद्धिदर ०.८ प्रतिशत रहेको छ ।

हाल वाणिज्य बैंकहरूको औसत बेसरेट ६ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूले न्यूनतम ०.५ प्रतिशत प्रिमियम जोडेर मात्रै पनि कर्जा दिइरहेका छन् ।

चालु आवको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब २९ अर्ब २७ करोड हायर पर्चेज कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरूले मात्रै १ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ ऋण दिएका छन् ।

८ ठूला बैंकले मात्रै कुल कर्जाको ६१.२६ प्रतिशत हायर पर्चेज कर्जा लगानी गरेका छन् ।

कुन बैंकले कति दिएका छन् ऋण ?

राष्ट्र बैंकका अनुसार सवारी साधन किन्न सबैभन्दा धेरै ऋण ग्लोबल आइएमई बैंकले दिएको छ । ग्लोबलले कुल १५ अर्ब ५१ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ । वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको यो १३.६५ प्रतिशत हो । तुलनात्मक रुपमा ग्लोबल आइएमई बैंक ब्याजदर सस्तो हुने बैंकमै पर्छ । हाल यसको बेसरेट साढे ५ प्रतिशत छ । चुक्ता पूँजीका आधारमा ग्लोबल सबैभन्दा ठूलो बैंक समेत हो ।

त्यस्तै, नबिल बैंकले दोस्रो धेरै हायर पर्चेज कर्जा लगानी गरेको छ । बैंकले भदौ मसान्तसम्म गाडी किन्न ११ अर्ब ५८ करोड रुपैयाँ ऋण दिएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ६७ करोड रुपैयाँ कर्जा दिएको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा सस्तो बबेसरेट हुने बैंक समेत हो ।

त्यसैगरी, ४ बैंकले ६ देखि ७ अर्बको बीचमा हायर पर्चेज कर्जा प्रवाह गरेका छन् । हिमालयनले ६ अर्ब ७७ करोड, एनएमबीले ६ अर्ब ७१ करोड, एभरेष्टले ६ अर्ब ५४ करोड र प्राइम कमर्शियलले ६ अर्ब ४ करोड रुपैयाँ ऋण दिएको छ ।

त्यस्तै, प्रभुले ५ अर्ब १६ करोड, नेपाल इन्भेष्टमेन्टले ५ अर्ब १२ करोड, कृषि विकासले ४ अर्ब ८१ करोड, सिटिजन्सले ४ अर्ब ५८ करोड, कुमारीले ४ अर्ब ३९ करोड र सिद्धार्थ बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् ।

माछापुच्छ्रेले ३ अर्ब ५४ करोड, लक्ष्मी सनराइजले ३ अर्ब ५ करोड र नेपाल एसबीआइले ३ अर्ब १ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ ।

नेपाल, एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टले भने गाडी मिन्नेलाई सबैभनदा कम ऋण दिएका छन् । जसमा चार्टर्डले सबैभन्दा कम १ अर्ब ४० करोड रुपैयाँ मात्र दिएको छ । नेपालले २ अर्ब ६४ करोड र एनआइसीले २ अर्ब १० करोड रुपैयाँ हायर पर्चज कर्जा प्रवाह गरेको छ ।

एनआइसीको ब्याजदर तुलनात्मक रुपमा महँगो रहेकाले हायर पर्चेज कर्जा लगानी कम भएको हो । चार्टर्ड र नेपालले भने नीतिगत रुपमै हायर पर्चेजका कम कर्जा लगानी गरेका हुन् ।


Back_to_top