होण्डा-निसान मर्जर खतरामा

काठमाडौं । जापानी दुई अटोमोबाइल कम्पनी होण्डा मोटर्स र निसान मोटर्स बीच हुने भनिएको मर्जर अनिश्चित बनेको छ ।

गत डिसेम्बरमा दुई कम्पनी बीच प्रारम्भिक सम्झौता (एमओयू) भएको थियो । यसअघि निसान र होण्डा मिलेर नयाँ होल्डिङ कम्पनी बनाउने सम्झौता भएको थियो ।

तर, अहिले सम्झौता विपरीत होण्डाले निसानलाई सब्सिडियरी कम्पनी बनाउने योजना बताएपछि निसानले मर्जरबाट पछि हट्ने संकेत गरेको हो । यसअघि नै होण्डा निसानको मर्जर प्रक्रियाबाट मित्सुबिसी पनि बाहिरिसकेको छ ।

निसानका सीईओ माकोदु उसिदाले होण्डाको सीईओ तोसिउतो मिबेलाई भेटी सब्सिडियरी कम्पनी बन्ने भए यो मर्जर रोक्ने बताएका हुन् ।

सुरूआतमा भएको सम्झौता अनुसार दुवै कम्पनीले आफ्ना रिसोर्सहरू परिचालन गरी चिनियाँ ईभी ब्राण्ड तथा टेस्लासँग ईभीमा प्रतिस्पर्धा गर्ने योजना बनाएका थिए । दुई कम्पनीले ईभी प्ल्याटफर्म शेयर गरी कमन इलेक्ट्रीक प्ल्याटफर्म विकास गर्ने योजना रहेको थियो ।

ग्लोबल्ली निसान रेनो र मित्सुबिसी अलायन्सको पार्ट रहेको छ । होण्डा जापानको टोयोटापछि दोस्रो ठूलो अटोमोबाइल कम्पनी हो भने निसान तेस्रो स्थानमा रहेको छ ।

होण्डा निसानको सम्भावित मर्जर तोडिन लागेका खबर बाहिरिएसँगै निसानको सेयर ७.६ प्रतिशतले बढेको छ भने होण्डाको ३.५ प्रतिशतले घटेको छ ।


Back_to_top