काठमाडौं । केही समय अघिदेखि चर्चामा रहेको जापानका तीन अटोमोबाइल कम्पनीको मर्जरमा दरार देखिएको छ । होण्डा, निसान र मित्शुबिसी तीन ब्राण्डलाई जोडेर एउटै ठूलो ब्राण्ड बनाउने योजनामा मित्सुबिसी बाहिर जाने देखिएको हो ।
सन् २०२३ मा होन्डाले ४१ लाख ९० हजार गाडीहरू बिक्री गरेको थियो । त्यही अवधिमा निसानले ३४ लाख ४० हजार कार बिक्री गरेको थियो । जबकी मित्शुबिसीले उक्त समयमा करिब १० लाख मात्रै कार बिक्री गरेको थियो ।
रोयटर्सका अनुसार तीन अटोमोबाइल कम्पनीको मर्जरमा मित्शुबिसी पछि हट्ने भएको हो । कम्पनीको उक्त निर्णय बाहिर आएसँगै मित्शुबिसीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।
मित्शुबिसी मोटर्समा निसानको २४ प्रतिशत हिस्सेदारी छ । मित्शुबिसीले अहिलेको स्ट्रक्चरलाई कायम राख्दै दक्षिण पूर्वी एशिया मार्केटमा बजार विस्तारमा फोकस हुने जनाएको छ ।
निसान मोटर्सको अर्को युरोपियन अटोमोबाइल कम्पनी रेनोमा पनि १५ प्रतिशत हिस्सा छ । होण्डाले नयाँ मर्जरमा रेनोलाई सहभागी नगराउने जनाउँदै निसानलाई मर्जर अगाडि नै आफ्नो हिस्सा बिक्री गर्न निसानलाई सुझाएको छ ।
निसान र होण्डाले गत डिसेम्बरमा सन् २०२५ को जुन महिनासम्म मर्जरका बुँदाहरूमा सहमती गर्ने योजना बनाएका छन् । दुई कम्पनीले सन् २०२६ को अगस्टसम्ममा नयाँ होल्डिङ कम्पनी बनाएर अगाडि बढ्ने योजना बनाएका छन् ।


