एशियाको ‘टेस्ला’ मानिने भिनफास्ट २ अर्ब डलर घाटामा

काठमाडौं । एशियाको टेस्ला मानिने भियतनामको अटोमोबाइल कम्पनी भिनफास्ट अटो निरन्तर घाटामा गएको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले सन् २०२४ को ९ महिनामा २ अर्ब अमेरिकी डलर (करिब पौने ३ खर्ब नेपाली रुपैयाँ) घाटा व्यहोरेको हो ।

निरन्तर घाटामा गएको वित्तीय विवरण प्रकाशित भएसँगै कम्पनीको सेयर मूल्य हालसम्मकै कम मूल्यमा कारोबार भएको छ । कम्पनीमा लगानी गरेका विदेशी लगाकर्ताहरूले आफ्नो लगानी फिर्ता लिँदा भिनफास्टको कर्जा पनि बढ्दै गएको हो ।

आर्थिक संकटबाट गुज्रिँदै गएको भिनफास्टले थप लगानी जुटाउन १२.५ प्रतिशत ब्याजदरको दुई वर्षे बण्ड समेत बिक्री गर्न लागेको छ । आर्थिक संकटसँग जुधिरहेको कम्पनीले भारतमा ५०० मिलियन डलर लगानी गर्ने योजना सहित इलेक्ट्रीक भेहिकल र ब्याट्री प्याक उत्पादन गर्ने काम अगाडि बढाएको छ ।

भिनफास्टमा ब्ल्याक रक, डिडब्लुएस, जेपी मोर्गन जस्ता अन्तर्राष्ट्रिय लगानी समूहले लागानी गरेका थिए । अर्को ठूलो समूह कोरियाको एसके ग्रुपले आफूसँग रहेको ६ प्रतिशत सेयर मध्ये अधिकांश सेयर फेब्रुअरीको मध्यसम्ममा बिक्री गर्ने योजना बनाएको छ ।

भिनफास्ट ग्रुप भियतनामको घरायसी नाम हो । यो ग्रुपको भियतनाममा अटोमोबाइल, रियल स्टेट, रिटेल र रिसोर्टमा लगानी रहेको छ ।

कम्पनीको भिनफास्ट इलेक्ट्रीक भेहिकल युनिट अहिलेसम्म घाटामा रहेको युनिट हो । भिनफास्टमा कम्पनीका फाउण्डरले गत अक्टुबरमा लोन र ग्राण्टको रूपमा १३.५ अर्ब डलर लगानी गरेका थिए । त्यसले पनि नपुगेपछि ३.५ अर्ब डलर थप लगानी गर्ने संस्थापकहरूले प्रतिबद्धता जनाएका छन् ।

यस समूहको मार्केट क्यापिटलाइजेशन सन् २०२३ अगस्टको लिस्टिङ पछि आधा घटिसकेको छ । भिनफास्ट अटोको सेयर मूल्य सन् २०२३ मा ६८.७७ डलर रहेकोमा हाल ४.०१ डलरमा कारोबार भइरहेको छ । जुन सेयर मूल्य सन् २०१७ पछिको सबैभन्दा कम हो ।


Back_to_top