यात्रीको नयाँ चार्जर कटुन्जेबेसीमा, एक साथ ७ सवारी चार्ज गर्न मिल्ने

काठमाडौं । यात्री इनर्जीले बनाएको नयाँ चार्जर संचालनमा आएको छ । कम्पनीले यूएसआईडी ऊर्जा नेपाल कार्यक्रम अन्तर्गतको अन्तिम चार्जिङ स्टेशन कटुन्जेबेसीमा संचालनमा ल्याएको हो ।

काठमाडौंबाट जाने र पूर्वबाट काठमाडौं आउने सवारीसाधनको चार्जिङको लागि सहयोगी बनाउन कम्पनीले कटुन्जेबेसीमा चार्जर संचालनमा ल्याएको कम्पनीले जनाएको छ । सामाजिक संजाल फेसबुकमा यात्री मोटरसाइकल पेज मार्फत यात्री इनर्जीले चार्जिङ स्टेशन संचालनमा आएको जानकारी दिएको हो ।

नयाँ चार्जिङ स्टेशनमा एक साथ ७ वटा सवारीसाधन चार्ज गर्न सकिन्छ । जसमा ६०/६० किलोवाटको दुई सीसीएस-२, दुई जिबीटी, दुई २२ किलोवाटको एसी चार्जर र एउटा मोटरसाइकलको लागि चार्जर राखिएको छ ।

यी चार्जरहरु यात्री इनर्जीले नेपालमै विकास गरेको हो । अहिलेसम्म यात्रीले विभिन्न सहरमा २८ वटा चार्जिङ गनहरु संचालनमा ल्याएको छ ।


Back_to_top