होण्डाको इलेक्ट्रीक मोटरसाइकल अब भारतमा उत्पादन हुने

काठमाडौं । होण्डाको पहिलो बिग डब्लूएन ७ इलेक्ट्रीक मोटरसाइकल अब भारतमा पनि उत्पादन हुने भएको छ ।

होण्डा इन्डियाले डब्लूएन ७ इलेक्ट्रीक मोटरसाइकलको लागि हालै भारतमा पेटेन्ट फाइल दर्ता गरेको हो । यो मोटरसाइकलको उत्पादन भारतमा मात्रै हुन्छ कि जापानमा पनि हुन्छ भन्ने चाहिँ खुलाइएको छैन ।

होण्डाको डब्लूएन ७ मोटरसाइकल करिब ७ महिना अघि ग्लोबल मार्केटमा सार्वजनिक भएको थियो । यद्यपि, अझै बिक्री भने सुरु भएको छैन ।

भारतमा पेटेन्ट फाइल गरिएको डब्लूएन ७ लाई होण्डाको पहिलो फिक्स्ड ब्याट्री इलेक्ट्रीक मोटरसाइकल हो । इटालीमा भएको इक्मा अटोशो २०२४ मा पहिलो पटक देखाएको होण्डाको इलेक्ट्रीक फन सेगमेन्टमा आधारित यो पहिलो मोटरसाइकल हो ।

कम्पनीले निकै आकर्षक देखिने गरी नेकेड डिजाइनमा तयार पारेको यो मोटरसाइकलमा आइसीई ६०० सीसी बराबरको हर्सपावर र १००० सीसी बराबरको टर्क जेनेरेट गर्ने ठूलो क्षमाताको इलेक्ट्रीक मोटर जडान हुनेछ ।

यसमा फास्ट चार्जिङ सपोर्ट गर्ने फिक्स्ड लिथियम आयन ब्याट्री दिइने छ । जसले एकपटकको फुलचार्जमा १३० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ ।

कम्पनीले मोटरसाइकलमा पहिलो पटक ईभी कारहरूमा प्रयोग गरिने सीसीएसटू फास्ट चार्जिङ सपोर्ट गर्ने चार्जिङ सिस्टम दिनेछ । यस सिस्टमले ब्याट्रीलाई मात्र ३० मिनेटको समयमा ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । होण्डाले विश्वबजारमै ईभी मोटरसाइकलमा पहिलो पटक सीसीएसटू फास्ट चार्जिङ सपोर्ट गर्ने सिस्टमको सुरुवात गरेको हो ।

डब्लू एन ७ ईभी मोटरसाइकललाई आफ्नो घर वा अन्य कुनै ठाउँमा पनि चार्ज गर्न सकिन्छ । यस्तो अवस्थामा ३ घण्टाभन्दा कम समयमा ब्याट्री फुलचार्ज हुने कम्पनीले बताएको छ ।

यसमा पूरा एलईडी लाइट सेटअप, लामो आकारको डीआरएल, क्लिप अन ह्याण्डलबारमा बार इन्ड मिरर, अलोय ह्वील, ट्युबलेस टायर, फ्रन्टमा डबल र रियरमा सिंगल डिस्कब्रेक रहेको मजबुत ब्रेकिङ सिस्टम, कम्फर्टेबल सस्पेन्सन सेअट र सुपर बाइकको जस्तै सिट पोजिसन रहेको छ ।

साथै, नेकेड, स्लिम बडी डिजाइन र आधुनिक प्रविधिमा उपलब्ध भएको यस ईभी मोटरसाइकलमा ५ इन्चको टीएफटी डिस्प्ले छ । जसमा होण्डा रोडसिंक एप मार्फत कनेक्टिभिटी सपोर्ट गर्ने सिस्टम, नेभिगेसन, कल र एसएमएस अलर्ट लगायतका धेरै सूचनाहरूको डिटेल्स हेर्न सकिने छ । यसका अलावा अन्य फिचरहरू पनि समावेस छन् ।


Back_to_top