काठमाडैं । चीनको प्रतिष्ठित अटोमोबाइल ब्राण्ड होङकीले चार वटा इलेक्ट्रीक मोटर भएको शक्तिशाली एसयूभी चाँडै बजारमा ल्याउने भएको छ ।
कम्पनीले आफ्नो पहिलो अफरोड एसयूभी बजारमा ल्याउने तयारी तीव्र पारेको हो । कम्पनीले हाल उक्त एसयूभीको परीक्षण गरिरहेको छ ।
हालै यो गाडीको हिउँमा परीक्षण गरिरहेको स्पाइ तस्बिरहरू बाहिरिएका छन् । जसले चिनियाँ अटोबजारमा नयाँ तरंग पैदा गरेको छ।
यो एसयूभीको मुख्य विशेषता भनेकै चार वटा मोटर रहनु हो । प्रायःजसो अधिकांश ईभीमा एउटा वा दुईवटा मोटर हुन्छन् । यद्यपि, कति कति किलोवाटका मोटर छन् भन्ने खुलाइएको छैन ।
चार मोटर भएको यो गाडी निकै शक्तिशाली रहेको छ । यसमा भएको मोटरहरूले १८५० न्युटन मिटरसम्म टर्क दिने बताइएको छ । यो गाडीले ४ सेकेण्डमै १०० किमीको रफ्तार भेट्टाउन सक्छ ।

कठिन सडकका लागि यसमा अगाडि, बीच र पछाडि गरी तीनवटा डिफरेन्सियल लक सिस्टम राखिएको छ । जसले गाडीलाई हिलो, बालुवा वा ढुंगा भएको बाटोमा फस्न दिँदैन ।
यो गाडी ५ मिटरभन्दा लामो छ भने ह्वीलबेस २९५० एमए लामो छ । बक्सी डिजाइनको यो एसयूभीमा होङकीको ट्रेडमार्क ‘वाटरफल’ ग्रिल र गोलो हेडलाइट छ । गाडीको छतमा अत्याधुनिक लाइडर सेन्सर जडान गरिएको छ । साथै, यसमा रूफ र्याक र पछाडि झुण्ड्याइएको स्पेयर टायरले यसलाई वास्तविक अफरोड लुक्स दिएको छ ।
होङकीले यो गाडीको नाम राख्नका लागि भोटिङ अभियान नै चलाएको थियो । गत अक्टोबरसम्मको नतिजा अनुसार यसले ‘माउन्टेन एण्ड रिभर्स’ (शानहे)मा सबैभन्दा धेरै मत पाएको थियो । साथै, अन्य लोकप्रिय नामहरूमा ‘कुनलुन’ र ‘जिङगाङ माउन्टेन’ रहेका छन् । जसले राखेको नाम छनोट हुनेछ, कम्पनीले उसलाई यो एसयूभीको पहिलो मोडल (नम्बर प्लेट ००१) उपहार स्वरूप दिने घोषणा गरेको छ ।
अहिले चीनको अफरोड बजारमा ट्रयांक ३०० र बेइजिङ बीजे ४० जस्ता गाडीहरूको वर्चश्व छ। प्रिमियम फिचर र इलेक्ट्रीक पावरमा आउने होङकीको यो एसयूभीले स्थापित ब्राण्डहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

