काठमाडौं । बीएस ६ प्रदुषण मापदण्डमा उत्पादन भएका सबै मोटरसाइकलमा एफआई इन्जिन दिइएको छ । भारतमा २०२० अप्रिल १ देखि पूर्णरुपमा बीएस ६ मापदण्ड कार्यान्वयनमा आएको छ ।
भारतीय बजारमा उत्पादन भएका अधिकांश मोटरसाइकल नेपाल आउने हुँदा नेपालमा पनि अब क्रमिकरुपमा सबै मोटरसाइकल एफआई सिस्टम सहित नेपाल आउने छन् ।
यामाहाले आफ्ना सबै मोटरसाइकल र स्कुटरहरु एफआई इन्जिनमा विक्री गर्दै आएको छ भने, केटीएम, हस्कभर्ना जस्ता कम्पनीले बीएस ६ इन्जिन युक्त मोटसाइकल नै विक्री गर्न थालिसकेका छन् ।
कार्वुरेटर प्रविधि र एफआई प्रविधिमा निकै भिन्नता रहेको छ । कार्वुरेटर मोटरसाइकल चलाई रहेको चालकले एफआई मोटरसाइकलको सिस्टमको बारेमा केहि थप कुरा थाहा पाउन आवश्यक हुन्छ ।
कतिपय चालकले मोटरसाइकलमा फ्युल एकदमै कम भएपछि मात्र फ्युल रिफिल गर्ने गरेको पाइन्छ । अझै कतिपयको त फ्यूल ट्याङ्की पुरै खालीभए पश्चात् मात्र भर्ने गरेको पाइन्छ । कार्वुरेटर इन्जिन भएका मोटरसाइकलमा फ्यूल जतिसुकै कम भएता पनि सामान्यतया कुनै असर गर्दैन । तर, एफआई इन्जिन भएका मोटरसाइकलमा भने सधै एउटा निश्चित लेभलसम्म फ्युल हुन जरुरी हुन्छ ।
एफआई प्रविधिमा फ्यूल पम्पले फ्युल पम्म गरेर फ्युल इन्जेक्टरसम्म पेट्रोल पुर्याउने काम गर्छ । फ्युल इन्जेक्टरले उक्त पेट्रोललाई सिलिन्डरमा स्प्रे गर्ने काम गर्छ ।
फ्युल ट्याङ्मा रहेको उक्त फ्युल, पम्पको लेभलसम्म हुनु जरुरी हुन्छ । उक्त लेभलभन्दा कम हुँदैमा मोटरसाइकल चलाउनै नमिल्ने भने होइन । उक्त फ्युल पम्मको लेभलभन्दा तल लामो समयसम्म फ्युल हुने हो भने यसमा खिया लागेर पम्ममात्र होइन फ्यूल इन्जेक्टरसम्म नै खराव हुन सक्छ ।
यस कारण एफआई प्रविधि युक्त मोटरसाइकलमा कम्तीमा २.५ लिटरदेखि ३ लिटरसम्म सधै इन्धन हुन जरुरी हुने प्राविधिकहरु बताउँछन् ।
के हो एफआई प्रविधि
फ्युल इन्जेक्टर (एफआई) एक आधुनिक प्रविधि हो । यसको मुख्य काम भनेको समय र आवश्यक्ता अनुसार इन्धन र हावाको समिश्रणलाई इन्जिनमा पठाएर कमभन्दा कम इन्धन खर्च गरि वातावणीय प्रदूषण कम गराउनु हो ।
यसमा ८ वटा विभिन्न सेन्सरहरू लगाइएका हुन्छन् । जसले ८ तरिकाले सवारी, स्पिड, वातावरण, बाहिरी तापक्रम, एक्सीलेसनको मात्रा आदिका आधारम इन्धन र हावाको मिसावटको निर्धारण गर्ने गर्छ । यसमा कार्बोरेटरको जस्तो सधै समान समिश्रण हुँदैन ।
एफआईमा आवश्यक्ता अनुसार रियल टाइम समिश्रण (हावा र इन्धनको) मात्रा थपघट हुने गर्छ । जस्तो जाडोको मौसममा कार्बोरेटर मोटरसाईकलमा भन्दा एफआई सजिलै स्टार्ट हुने गर्छ । यस्तो मौसममा एफआईले इन्जिनमा पठाउने समिश्रणमा हावाको भन्दा इन्धनको मात्रा बढी हुने गर्छ ।
एफआई प्रविधीले एक्सिलेटर बढाउँदैमा इन्धनको फ्लोलाई मात्र बढाउँदैन । यसले त कति मात्रामा इन्धन र हावाको आवश्यक्ता हुन्छ उक्त कुरा निर्धारण गरेर मात्र आवश्यक मात्रामा इन्धन खर्च गराउँछ । फलस्वरुप कम इन्धनमा धेरै यात्रा गर्न सम्भव हुन्छ, वातावरण जोगाउँछ, सवारीको माइलेज १४ प्रतिशत सम्म बढाउछ । सवारीसाधनको सँचालन खर्च घटाउछ ।
एफआई प्रविधिले मोटरसाइकल आवश्यकताभन्दा बढी ढल्किएमा इन्धनको फ्लोलाई रोकिदिने काम पनि गर्छ । जसको सहयोगले मोटरसाइकल लडेमा पनि इन्धनको ओभर फ्लो हुन बाट जोगाउँछ ।

