मोटरसाइकल र कार चालकलाई महंगो पेट्रोल बचाउने ७ तरिका

काठमाडौं । नेपालमा इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । रसिया-यूक्रेन युद्धसँगै बढ्न थालेको इन्धनको मूल्य आकाशियको छ । इन्डियन आयल कर्पोरेशनले दिएको नयाँ मूल्य अनुसार पेट्रोलको नयाँ मूल्य २०९ रुपैयाँ प्रतिलिटर छ ।

अहिले आयल निगमले आफ्नो परल मूल्य उठाएर विक्री गर्ने हो भने पनि कम्तीमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रतिलिटर हुन्छ । नेपाल आयल निगमले अब स्वचालित मूल्य कायम गर्ने निर्णय गरिसकेको छ । यस्तोमा अब छिटै पेट्रोलको मूल्य २१० प्रतिलिटर हुने पक्का छ ।

त्यसैले पेट्रोलको खपत कसरी कम गर्ने भन्ने कुरा चालकले पनि ध्यान दिनु पर्छ । चालकले केही हदसम्म ध्यान पुर्याउन सकेको खण्डमा पेट्रोलको बचत गर्न सकिन्छ ।

पटक पटक क्लच प्रयोग नगर्ने

धेरै चालकहरुको सवारीसाधन क्लच समातेर चलाउने बानी हुन्छ । यसरी क्लच समातेर गाडी चलाउँदा माइलेजमा गिरावट त आउँछ नै इन्जिनको आयु पनि घट्छ । त्यस्तै सवारीसधनको क्लच टाइट भएमा पनि तुरुन्तै मर्मत गर्नु पर्दछ अन्यथा क्लच प्लेट नै बिग्रिन सक्छ ।

हाई स्पीडमा कम गियर नलगाउने

जब सवारी हाई स्पीडमा हुन्छ, अचानक त्यसलाई कम गियरमा झार्नु हुँदैन । विस्तारै स्पीड कन्ट्रोल गरेर मात्र गियर डाउन गर्नु पर्छ । स्पीडमा अचालन लो गियर लगाएमा इन्धनको खपत एकदमै बढ्नुका साथै इन्जिनमै असर पर्न सक्छ ।

इन्जिनलाई बाहिरबाट कभर नगर्ने

कतिपय मोटरसाइकल चालकले इन्जिनलाई हिलो धुलोबाट जोगाउन बाहिर अर्को बस्तुले छोप्ने गरेको देखिन्छ । यसो गर्दा इन्जिनलाई बाहिरी हावाले चिसाउन पाउँदैन । बाहिरी हावाले इन्जिन चिसो बनाउन नपाउँदा इन्जिनको तापक्रम बढ्न जान्छ । यस्तोमा इन्धन बढी खपत गर्नुका साथै इन्जिनको आयुनै घट्ने हुन्छ ।

ब्रेकमा हात वा खुट्टा नराख्ने

धेरै चालकहरुले मोटरसाइकल वा स्कुटर चलाउँदा ब्रेक समातिरहेका हुन्छन् । गाडीमा पनि अधिकंश समय ब्रेक पेडलमा खुट्टा राखेर चलाउने चालक भेटिन्छन् । यसरी गाडी चलाउँदा हलुका ब्रेक लागि रहने हुँदा अघिबढ्न थप शक्तिको आवश्यकता पर्छ । फलतः इन्जिनमा इन्धनको फ्लो बढ्न गई इन्धन खपत बढ्ने हुन्छ ।

३० सेकेन्डभन्दा धेरै रोकिदा इन्जिन अफ गर्ने

आजकल मोटरसाइकल वा गाडीमा ब्रेक लगाएर केहीबेर रोक्नु पर्दा स्टार्ट अफै बन्द हुने स्मार्ट टेक्नलोजीहरु आएका छन् । यदि तपाईको सवारीमा त्यस्तो टेक्नलोजी छैन र ट्राफिक सिग्नलमा ३० सेकेन्डभन्दा बढि समय रोकिनु परेमा इन्जिन अफ गर्नु उपयुक्त हुन्छ । जसले इन्धन खपत कम गर्न सहयोग गर्छ ।

घाममा पार्क नगर्ने

प्रायः चालकले आफ्नो सवारी पार्किङ गर्दा ओझेलमा राखेको देखिदैन । तर, हामीले लामो समय पार्कगर्दा सकेसम्म सिधा घाम पर्ने स्थानमा पार्क गर्नु हुँदैन । मोटरसाइकलाई सिधा घाममा पार्क गर्दा फ्यूल ट्याङ्कीमा तापक्रम बढेर इन्धन उढ्ने गर्छ । त्यस्तै गाडी पनि घाममा पार्क गर्दा क्यावीनको तापक्रम बढेर चिस्याउन एयर कण्डिसनलाई धेरै समय लाग्छ । फलस्वरुप इन्धनको नोक्सान हुन्छ ।

टायरको प्रेसर चेक गर्ने

गर्मी महिनामा टायरको एयर प्रेसर आफै पनि घटेको हुन्छ । टायरमा कम्पनीले दिएको गाइड लाइन अनुसार एयर प्रेसर भएन भने सवारी साधन गरुङ्गो हुने र अगाडि बढ्न धेरै शक्ति खर्च गर्नु पर्ने हुन्छ । इन्जिनले धेरै शक्ति निकाल्न इन्धनको खपत बढाउँछ । त्यसकारण अफ्नो सवारी साधनको समय समयमा एयर प्रेसर चेक गरिरहनु पर्छ ।


Back_to_top