कुन ब्राण्डको ईभी किन्ने ? यी कुरा नबुझे पछुताउनु पर्ला

काठमाडौं । एक साता अगाडि गोकर्ण गल्फ रिसोर्टमा जेको जे-६ को अल ह्वील ड्राइभ मोडलको टेस्ट ड्राइभ चलिरहेको थियो । त्यस रिसोर्टमा बसेका शंखमुल निवासी शत्यमान श्रेष्ठ आफ्नो साथिलाई भन्दै थिए, ‘कुन ईभी ठिक कन्फ्यूज भइयो ।’

दुई साथिहरु बीच चलेको कुराकानीमा मैले पनि चासो देखाए । आफ्नो परिचय दिएर उहाँको नाम सोधे र कन्फ्युज बन्नु पर्ने कुरा नभएको भने । त्यसपछि उनिसँग केही समय कुरा गरेर म टेष्ट ड्राइभ स्थलतर्फ लागे ।

नेपालमा गाडी चढ्नु घर निर्माण गर्नुपछिको सबैभन्दा ठूलो लगानी मानिन्छ । जसरी घर निर्माण गर्दा सिमेन्ट, रड, ईटा, पाइप, टायल, धारा कुन ब्राण्ड र क्वालिटीको राख्ने भन्ने विषयमा जानकारहरु र परिवारसँग गम्भिर छलफल गरेर निर्णय लिने गरिन्छ । तर, गाडी जस्तो कुरा किन्ने विषयमा मानिस अन्योलमै निर्णय लिन्छ भन्ने हुँदैन ।

अहिले पेट्रोल कारको बजार हिस्सा २५/२६ प्रतिशतमा खुम्चेको छ । ईभीको बिक्री उच्च छ । तर, बग्रेल्ती ब्राण्डहरु भएको कारण कुन ब्राण्डको गाडी ठिक भनेर छुट्टाउन कठिन अवस्था सृजना भएको हो । त्यसैले माथि श्रेष्ठलाई मैले सुझाएका विषय यहाँ लेखेको छु ।

सर्भिस बारे सोध्नुस्

करिब दुई दर्जन बढी ब्राण्डले ईभी बिक्री गरिरहेका छन् । ती मध्ये अहिलेसम्म आधा दर्जन हाराहारी ब्राण्डले मात्रै ठिकठाकको सर्भिस उपलब्ध गराएका छन् । कही ब्राण्डले गाडी बिक्री सुरु गरेको लामो समय भएपनि अहिलेसम्म एउटा पनि सर्भिस सेन्टर निर्माण नगरेका ब्राण्ड पनि बजारमा छन् ।

त्यसैले ईभी ब्राण्ड छनोट गर्नुअघि उपभोक्ता आफैँले कम्पनीले दिने सर्भिसको बारेमा सोधपुछ गर्नु पर्ने हुन्छ । साथै, उनिहरुले पार्टसको उपलब्धता कसरी गराएका छन्, त्यो पनि एकिन गर्नु पर्ने हुन्छ ।

ब्याट्री र मोटर बारे राम्रोसँग बुझ्नुस्

कुनै पनि ब्राण्डको विद्युतीय गाडी किन्ने निर्णय गर्नु अगाडि त्यसमा प्रयोग भएको ब्याट्री र मोटर बारे जानकारी राख्नुहोस् । अहिले विश्वभर सयौं स्टार्टअपदेखि चल्तीका ब्राण्डले ब्याट्री र मोटर उत्पादन गर्दै आएका छन् ।

सकभर चल्तीका ब्याट्री उत्पादकले उत्पादन गरेको ब्याट्री प्रयोग भएको ब्राण्ड नै छनोट गर्नु उपयुक्त हुन्छ । साथै, मोटरमा पनि किन्नु अगाडि वारेन्टी लगायतका विषयमा जानकारी राख्ने हो भने पछि पछुताउनु पर्दैन ।

नेटवर्क र चार्जिङ योजना

तपाईले किन्ने गाडी नेपालको कुनै पनि कुनामा यात्रामा निस्कनु पर्ने हुन्छ । त्यसैले जुन ब्राण्डले धेरै नेटवर्कबाट ग्राहक सेवा दिन्छन्, उसको गाडी छनोट गर्नु वुद्धिमानी हुन्छ ।

निजी कम्पनीहरुले तिब्र गतिमा चार्जिङ नेटवर्क बिस्तार गर्दै आएका छन् । तपाई पनि कुनै पनि ईभी ब्राण्ड छनोट गर्नु अगाडि उसको चार्जिङ स्टेशन निर्माणको योजना र बनेका नेटवर्क बारे जानकारी लिनुहोस् । दिगो रुपमा ब्यापार गर्ने योजना भएका कम्पनीहरुले चार्जिङ पूर्वाधारमा लगानी बढाउँदै लगेका छन् । यस्ता ब्राण्डका गाडी किन्दा तपाईले दुःख पाउनु पर्दैन ।

अन्त्यमा, ईभी किन्नु अगाडि बिक्रेता कम्पनीको योजना मुख्य हुने भएकाले कम्तीमा एक पटक सोध्न नभुल्नुहोला ।


Back_to_top