पाँच दिनपछि आउँदै दुई दर्जन नयाँ कार, नेपालमा चासो बढेका ५ मोडल

काठमाडौं । भारतमा जनवरी १७ तारिखबाट हुन गइरहेको भारत मोविलिटी एक्स्पोमा विभिन्न कम्पनीले दुई दर्जन बढी मोडल सार्वजनिक गर्दैछन् । त्यहाँ सार्वजनिक हुन लागेको मध्ये नेपाली बजारको हिसावले ५ एसयूभी निकै महत्वपूर्ण मानिएको छ ।

भारतको नयाँ दिल्लीमा हुने भारत मोविलिटी एक्स्पोमा हुन्डाई, सुजुकी, टोयोटा, महिन्द्रा र टाटाले देखाउने एसयूभीहरु निकै चर्चामा हुने अनुमान गरिएको छ । यी सबै ब्राण्डले नयाँ आउने गाडीको धेरै कुरा बाहिर ल्याइसकेका छन् ।

हुन्डाईले क्रेटा ईभी, सुजुकीले ई-भिटारा, टोयोटाले अर्वान क्रुजर, महिन्द्राले बीई-६ र टाटाको सिरिया ईभी नेपालको लागि निकै उपयोगी मोडल हुनसक्छन् । यी नै मोडलको सहायताले विगत २५ देखि ६० वर्ष लामो इतिहास बनाएका ब्राण्ड नेपाली बजारमा प्रतिस्पर्धी बन्ने जमर्को गर्नेछन् ।

नेपालमा पेट्रोल कारको बिक्री नगन्य बन्दै गएको समयमा आउन लागेका यी सबै मोडल विद्युतीय हुन् । ईभीको उछालमा यी वर्षौ पुरानो विरासत लिएर हिडेका ब्राण्डहरुले फाइदा उठाउन सक्छन् वा सक्दैनन्, अहिल्यै भन्न सक्ने अवस्था छैन ।

भारतमा सार्वजनिक हुन लागेका नयाँ मोडल मध्ये सबैभन्दा पहिला हुन्डाई क्रेटा ईभी नेपाली बजारमा आउने छ । कम्पनीले अबको एक महिना भित्रै क्रेटा ईभी नेपाली ल्याउने तयारी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गरिरहेको छ ।

क्रेटापछि महिन्द्रा बीई-६ नेपाल आउने छ । अप्रिल अन्तिमसम्ममा नेपाल आउने अनुमान गरिएको बीई-६ फिचर लोडेड मोडल हो । सन् २०१० मा नै ईभी बिक्री गरेको महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बिक्रीमा उछाल ल्याउन बीई-६ सक्षम हुने अनुमान गरेको छ ।

त्यसपछि सुजुकी ई-भिटारा नेपाल आउने छ । सुजुकीको पहिलो ईभी भएको कारण धेरै मानिस ई–भिटारा हेर्न आतुर छन् । कम्पनीले मार्चबाट युरोपमा बिक्री थाल्न लागेको ई-भिटारा सन् २०२५ को मध्यतिर नेपाल आउने छ । ईभी नेपाल ल्याउने तयारीमा सिजी मोटोकर्प जुटिसकेको छ ।

टाटा मोटर्सको कर्भ र नयाँ नेक्सन नेपाल आउनै बाँकी रहेको कारण सबैभन्दा अन्तिममा टाटा सिरिया नेपाल आउने अनुमान गरिएको छ । तर, बजार माग अनुसार प्रोडक्ट ल्याउन माहिर मानिएको सिप्रदी ट्रेडिङले चाँडै नै पनि सिरिया ईभी नेपाल ल्याउन सक्नेछ ।


Back_to_top