लीपमोटरको नयाँ ह्याचब्याक A05 को बुकिङ खुला, रेन्ज ५१० किमी

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो नयाँ इलेक्ट्रीक ह्याचब्याक ए ०५ को प्रि-अर्डर सुरू गरेको छ ।

कम्पनीले आधिकारिक लन्च अगावै चिनियाँ बजारमा प्रि-बुकिङ लिन थालेको हो । ग्राहकले हाल १५ डलर डिपोजिट राखेर ए ०५ फाइभ अर्डर गर्न सक्नेछन् ।

यद्यपि, कम्पनीले यसको मूल्य भने खुलाएको छैन । कम्पनीले यसको लन्च मिति घोषणा गरेको छैन । तर, चीनभरका लीपमोटर शोरुमहरूमा गाडी पुग्न थालिसकेको छन् । यसले कम्पनीले चाँडै उक्त गाडी लन्च गर्ने तयारी गरिरहेको बुझ्न सकिन्छ ।

ए ०५ लीपमोटरको ‘ए’ प्लेटफर्ममा बनेको ए १० एसयूभी पछिको दोस्रो मोडल हो । साथै, यो प्लेटफर्मको पहिलो कम्प्याक्ट ह्याचब्याक समेत हो ।

यसअघि दर्ता भएका फाइलिङहरूका अनुसार ए ०५ को लम्बाइ ४,२०० एमएम, चौडाइ १,८०० एमएम र उचाइ १,५६० एमएम छ । यसको ह्वीलबेस २,६०५ एमएम रहेको छ।

यसमा गोसियन हाइटेक र जेनेर्जीले बनाएको लिथियम आइरन फोस्फेट ब्याट्री प्रयोग गरिएको छ । ए ०५ ह्याचब्याकमा ३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ४०५ किमी र ५१० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

यो गाडीमा ७० किलोवाट र ९० किलोवाटको दुई मोटर अप्सन उपलब्ध हुनेछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा १६० किमी रहेको छ। लीपमोटरका अनुसार ए ०५ ले फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले १६ मिनेटमै ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।

ए ०५ मा क्वालेकमको फ्ल्यागसिप स्न्यापड्र्यागन ८२९५ चिप प्रयोग गरिएको छ। यसको क्याबिनमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रीन रहेको छ ।

ए ०५ मा वैकल्पिक रूपमा लाइडार प्रविधि पनि उपलब्ध छ । जसले पार्क गर्ने ठाउँदेखि अर्को पार्क गर्ने ठाउँसम्म नेभिगेसन सहायता प्राप्त ड्राइभिङ सुविधा दिन्छ ।

हाल नेपाली बजारमा लीपमोटरका गाडी बिक्री भइरहेका छन् । सम्भवतः चीनमा बिक्री सुरू भएपछि ए ०५ पनि नेपाली बजारमा पनि आउन सक्छ ।


Back_to_top