काठमाडौं । अब चाँडै नेपालबाट भारतको राजधानी नयाँ दिल्ली करिब ८ घण्टाको यात्रामै पुग्न सकिने भएको छ ।
भारतले निर्माण गरिरहेको गोरखपुर-सुनौली एक्स्प्रेस वे अन्तिम चरणमा पुगेको हो । यो सडक संचालनमा आएसँगै सुनौलीबाट दिल्लीको यात्रा अवधि करिब आधा घट्ने भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार यो द्रुतमार्ग निर्माण भइसकेपछि नयाँदिल्ली-सुनौली सडक यात्राको समय ८ घण्टामा झर्ने छ । हाल सुनौलीबाट दिल्ली पुग्न १३/१४ घण्टा लाग्ने गरेको छ ।
भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार ७९.५४ किमी लामो सुनौली-गोरखपुर सडक अहिले धमाधम चारलेनमा स्तरोन्नति भइरहेको हो । हाल दुई लेनमा रहेको यो सडकलाई भारत सरकारले एक्स्प्रेस वेमा स्तरोन्नति गरिरहेको हो । साथै यो सडक भविष्यमा सहज रूपमा ६ लेनमा परिणत गर्ने गरी डिजाइन गरिएको छ।
यस सडक पराकिलो बनाउनुका साथै दुरी छोट्याउन रेल आधुनिक पूर्वाधार संरचना निर्माण गरिएको छ । यो एक्सप्रेस वे एउटा सधारण सडक मात्र नभई आधुनिक इन्जियनिरिङको नमूनाका रुपमा विकास गरिएको छ । यसमा ओभरब्रिज, फ्लाइओभर र अण्डरपास जस्ता संरचना निर्माण गरिएको छ ।
यो एक्सप्रेस वेमा एडभान्स ट्राफिक म्यानेजमेन्ट सिस्टम जडान गरिने छ । यात्रुको सुरक्षाका लागि हरेक महत्वपूर्ण स्थानहरूमा सीसीटीभी क्यामेरा, इमर्जेन्सी कल बक्स, इलेक्ट्रोनिक डिस्प्ले साइन राखिएको छ । यो एक्सप्रेस वेको निर्माण लागत १४ अर्ब ५८ करोड भारतीय रुपैयाँ रहेको छ ।
यो सडक संचालनमा आएपछि नेपाल र भारत बीचको यात्रा सहज, सुरक्षित र छिटो हुनेछ । यसले दुई देश बीचको व्यापार, पर्यटन, यातायात क्षेत्रमा नयाँ आयाम थप्नेछ ।


