एसयूभी पोर्टफोलियोमा बलियो एसपीजी, अब ४० लाखमुनिको सेग्मेन्टमा प्रवेश गर्दै

काठमाडौं । चेरी अटोमोबाइल ग्रुप अन्तर्गतका ओमोडा/जेको र आइकार ब्राण्डका सवारीसाधन नेपाली बजारमा बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल्सले आफ्नो एसयूभी पोर्टफोलियोलाई थप सशक्त बनाउँदै लगेको छ ।

फरक मूल्य, क्षमता र विशेषताका एसयूभीमार्फत बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको सारडा ग्रुप अन्तर्गको कम्पनीले अब कम मूल्यको सेग्मेन्टमा समेत प्रवेश गर्ने तयारीमा छ ।

एसपीजीको पोर्टफोलियोमा अहिले ५१ लाख ९९ हजार रुपैयाँदेखि ६९ लाख ९९ हजार रुपैयाँसम्मका विद्युतीय एसयूभी उपलब्ध छन् ।

कम्पनीले ५१ लाख ९९ हजार रुपैयाँमा ओमोडा ई-५ को सिंगल टोन भेरियन्ट र ५२ लाख ४९ हजार रुपैयाँमा ड्युल टोन भेरियन्ट बिक्री गरिरहेको छ ।

त्यस्तै, आइकार भी-२३ को मूल्य ५३ लाख ९९ हजार रुपैयाँ र जेको जे-६ टीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


एसपीजीले आगामी दिनमा आफ्नो पोर्टफोलियोलाई अझ फराकिलो बनाउने तयारी गरिरहेको छ । कम्पनीले ल्याउने तयारी गरेको आइकार भी-२७ को रेन्ज एक्सटेन्डेड इलेक्ट्रीक भेहिकल (ईआरईभी) संस्करणको मूल्य १ करोड ८० लाख रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ ।

त्यस्तै, चेरी ग्रुपकै क्यूक्यू ब्राण्ड अन्तर्गतको नयाँ ह्याचब्याक कार ४० लाख रुपैयाँभन्दा कम मूल्यमा नेपाली बजारमा आउने अपेक्षा गरिएको छ ।

यसरी हेर्दा नेपाली बजारमा ४० लाख रुपैयाँभन्दा कम मूल्यको मास मार्केटदेखि ५०-७० लाख रुपैयाँको मध्यम मूल्यका एसयूभी र १ करोड ८० लाख रुपैयाँभन्दा माथिको प्रिमियम ईआरईभीसम्मका उत्पादनको सहायताले बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति बनाएको देखिन्छ ।

ब्याट्री क्षमतामा विविधता, मोटरमा पनि विकल्प

एसपीजीको पोर्टफोलियोमा रहेका विद्युतीय एसयूभीहरू ब्याट्री क्षमता र मोटर पावरका हिसाबले पनि फरक-फरक छन् । यसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोडल छनोट गर्ने अवसर दिएको छ ।
ओमोडा ई-५ मा ५०.७ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ । आइकार भी-२३ मा ५९.९३ किलोवाट आवर र जेको जे-६ टीमा ६५.६९ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

मोटर क्षमताका हिसाबले ओमोडा ई-५ मा ९९ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । आइकार भी-२३ मा १०० किलोवाटको मोटर प्रयोग गरिएको छ । जेको जे-६ टीमा भने यी दुई मोडलको तुलनामा बढी शक्तिशाली १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ ।

ब्याट्री क्षमता र मोटर पावरमा रहेको यो विविधताले एसपीजीलाई फरक-फरक ग्राहक समूहलाई लक्षित गर्न सहज बनाएको छ । सामान्य सहरी प्रयोगदेखि बढी पावर र क्षमताको अपेक्षा गर्ने ग्राहकसम्मका लागि कम्पनीसँग विकल्प उपलब्ध हुँदै गएका छन् ।

नेटवर्क विस्तारमा पनि आक्रामक रणनीति

विद्युतीय सवारीको बजार विस्तारसँगै बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारलाई ग्राहकले निकै महत्व दिन थालेका छन् । यही विषयलाई ध्यानमा राख्दै एसपीजी अटोमोबाइल्सले काठमाडौं उपत्यकासँगै देशका प्रमुख सहरहरूमा आफ्नो बिक्री, सर्भिस र चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ ।
कम्पनीले पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी, नारायणगढ, विराटनगर र बिर्तामोड लगायतका प्रमुख सहरलाई केन्द्रमा राखेर बिक्री केन्द्र, सर्भिस सेन्टर तथा चार्जिङ पूर्वाधार निर्माणमा जोड दिएको छ ।

नेपालमा विद्युतीय सवारीको बजार काठमाडौं उपत्यकाबाहिर पनि तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख सहरमा बलियो नेटवर्क निर्माण गर्न सक्नु एसपीजीका लागि महत्वपूर्ण प्रतिस्पर्धात्मक आधार बन्न सक्छ ।

एक वर्षमा १२०६ एसयूभी आयात

एसपीजीको बजार विस्तारलाई पछिल्लो आयात तथ्यांकले पनि बलियोसँग पुष्टि गर्छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले विभिन्न मोडलका गरी कुल १ हजार २०६ युनिट एसयूभी नेपाल ल्याएको देखिन्छ ।

कम्पनीको आयातमा सबैभन्दा ठूलो हिस्सा आइकार भी-२३ को रहेको छ । छोटो समयमै कम्पनीले ५१२ युनिट आइकार भी-२३ नेपाल भित्र्याएको छ । नेपाली बजारमा नयाँ ब्राण्डका रूपमा प्रवेश गरेको आइकार भी-२३ ले छोटो अवधिमै बनाएको बजार उपस्थिति एसपीजीका लागि उत्साहजनक देखिन्छ ।

त्यसपछि सबैभन्दा धेरै आयात भएको मोडल ओमोडा ई फाइभ हो । एक वर्षको अवधिमा कम्पनीले २९४ युनिट ई फाइभ नेपाल ल्याएको देखिन्छ ।

त्यस्तै, २१२ युनिट जेको जे फाइभ र १८९ युनिट जेको जे सिक्स टी नेपाल आयात गरिएको छ । यी तथ्यांकले एसपीजीले विभिन्न मूल्य र सेग्मेन्टमा आफ्ना उत्पादन विस्तार गर्दै नेपाली एसयूभी बजारमा आफ्नो हिस्सा बढाउँदै गएको देखाउँछ ।

अब ४० लाख रुपैयाँमुनिको बजारमा आँखा

एसयूभी सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति बनाइसकेको सारडा ग्रुपको नजर अब कम मूल्यका कारमा परेको छ । कम्पनीले चेरी ग्रुपअन्तर्गतको क्यूक्यू ब्राण्ड नेपाल भित्र्याउने तयारी गरेको छ ।

आगामी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने तयारी भइरहेको क्यूक्यू ब्राण्डको पहिलो ह्याचब्याक कारको मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने बताइएको छ ।
अहिले मुख्य रूपमा एसयूभी र तुलनात्मक रूपमा उच्च मूल्यका विद्युतीय सवारीमा केन्द्रित कम्पनीले क्यूक्यूमार्फत ठूलो ग्राहक वर्गलाई लक्षित गर्न सक्ने देखिन्छ ।

यसले कम्पनीको उत्पादन पोर्टफोलियोलाई मात्र फराकिलो बनाउने छैन, चेरी ग्रुपका उत्पादनमा नेपाली उपभोक्ताको छनोट पनि थप बढाउनेछ । एउटै समूहअन्तर्गत विभिन्न ब्राण्ड र मूल्यका उत्पादन उपलब्ध गराउन सक्ने क्षमताकै कारण कम्पनी आगामी दिनमा महत्वपूर्ण प्रतिस्पर्धात्मक शक्ति बन्न सक्छ ।

समग्रमा हेर्दा, एसपीजी अटोमोबाइल्सले अहिले नेपाली बजारमा मोडल, मूल्य, प्रविधि र नेटवर्क गरी चारै पक्षमा आफ्नो उपस्थिति विस्तार गरिरहेको देखिन्छ ।

एकातिर आइकार, ओमोडा र जेकोका विभिन्न एसयूभीमार्फत मध्यम तथा प्रिमियम बजारमा पकड बलियो बनाउने प्रयास भइरहेको छ भने अर्कोतर्फ क्यूक्यूमार्फत कम मूल्यको सेग्मेन्टमा प्रवेश गर्ने तयारी छ ।

यदि कम्पनीले नयाँ मोडलसँगै बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको सहज उपलब्धता, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधारलाई पनि प्रभावकारी रूपमा विस्तार गर्न सक्यो भने आगामी दिनमा नेपाली अटोमोबाइल बजारमा एसपीजी अटोमोबाइल्सको प्रभाव अझ बलियो बन्ने देखिन्छ ।


Back_to_top