काठमाडौं । नेपालको औद्योगिकीकरण र उद्यमशीलताका प्रणेता प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व. दिवाकर गोल्छाको सम्मान तथा सम्झनामा दिवाकर गोल्छा अर्गनाइजेसनले संस्थापक दिवस मनाएको छ।
स्व. गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा अर्गनाइजेसनले काठमाडौंस्थित कर्पोरेट कार्यालय, विभिन्न कारखाना स्थल तथा देशभरका शाखा कार्यालयहरूमा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्दै संस्थापक दिवस मनाएको हो ।
संस्थापक दिवसको अवसरमा अर्गनाइजेसनले निःशुल्क स्वास्थ्य शिविर, संस्थामा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण, वृक्षारोपण, विद्यालय र वृद्धाश्रमहरूमा भोजन वितरण र कीर्तिपुर अस्पताललाई डायलिसिस उपकरण हस्तान्तरण गरेको छ ।
स्व. दिवाकर गोल्छाको दूरदर्शिता र स्वदेशमै रोजगारी सिर्जना गर्ने निष्ठाकै कारण आज यस अर्गनाइजेसन अन्तर्गतका उद्योगहरूले करिब २० हजार जनालाई रोजगारी प्रदान गर्दै आएका छन्। देशलाई औद्योगिक पथमा अगाडि बढाउन गोल्छाले कर्कट जस्तापाता, पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिल युटेन्सिल, जीआइ तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने दर्जनौँ उद्योगहरू स्थापना गरेका थिए ।


