काठमाडौं । इभोक नेपालले नेपाली बजारमा २५० सीसी सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याएको छ । कम्पनीले दक्षिण कोरियाली ह्योसुङ ब्राण्डको नयाँ २५० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल नेपाल ल्याएको हो ।
यद्यपि, कम्पनीले यो मोटरसाइकल औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । कम्पनी स्रोतका अनुसार यो मोटरसाइकल केही समयपछि मात्रै सार्वजनिक हुनेछ । उक्त मोटरसाइकल करिब ७ लाख ५० हजार रुपैयाँ हाराहारी मूल्यमा बिक्री गरिने कम्पनी स्रोतको भनाइ छ ।
२५० एड्भेन्चर सेग्मेन्टमा विल्कुलै नयाँ डिजाइन र टेक्नोलोजीमा नेपाल आएको हो । नेपालमा आएका अधिकांश २५० एड्भेन्चरभन्दा यो मोटरसाइकल फरक शैली र भी-ट्विन इन्जिन सेटअपमा छ । यो इन्जिन भएको नेपालमा २५० सीसी सेग्मेटकै पहिलो मोडल हो ।
ह्योसुङ मोटरसाइकलमा युरो६ मापदण्ड अनुसारको २४८.२ सीसी क्षमताको लिक्विड कुल्ड, ८ भल्ब, एसओएचसी, एफआई, भी-ट्विन इन्जिन छ । यो इन्जिनले अधिकतम ९ हजार ५०० आरपीएममा २५.५ पीएस पावर तथा ७००० आरपीएममा २० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीड गियरबक्स छ । यसमा दिइएको भी-ट्विन इन्जिनले स्मुथ राइडिङ प्रदान गर्छ र मोटरसाइकलमा आउने इन्जिन भाइब्रेटलाई पनि कम गराउँछ ।
प्रपर एड्भेन्चर लुकमा देखिएको यो मोटरसाइकलमा सिधा राइडिङ पोस्चर टाइपको ह्याण्डलिङ, सिट पोजिसन, फ्रन्टमा अपसाइड डाउन फोर्क, रियरमा मोनोसक सस्पेन्सन, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, वायर स्पोक ह्वील र ट्युबलेस टायर रहेको छ ।
साथै, ह्योसुङ २५० एडीभीमा ७ इन्चको टीएफटी डिजिटल डिस्प्ले र एड्जस्टेबल विन्डसिल्ड, प्यानियर साइड बक्स राख्ने सुविधा, क्रयास गार्ड, भर्टिकल्ली स्टेक्ड एलईडी हेडल्याम्प, पूरा एलईडी लाइट सेटअप, ईएफआई सिस्टम लगायत सुविधा फिचर छन् ।

